झापा, २५ जेठ । बुद्धशान्ति गाउँपालिका वडा नं. ४ को आयोजनामा आर्थिक वर्ष २०८३/८४ का लागि योजना तथा कार्यक्रम तर्जुमा तथा संकलन अभियान अन्तर्गत विभिन्न टोलमा सञ्चालन गरिएको टोलस्तरीय भेला सम्पन्न भएको छ।

अभियानको पहिलो चरण अन्तर्गत आज बिहान बर्नेस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित भेलाको अध्यक्षता वडा अध्यक्ष शेरबहादुर रायले गरेका थिए। कार्यक्रममा गाउँ कार्यपालिका सदस्य तथा वडा सदस्य दुर्गा पोखरेल ढुङ्गेल, वडा सदस्य ऐतबहादुर साँवा, सन्जीतकुमार थेवे, गाउँ कार्यपालिका सदस्य भीम धमला, वडा सदस्य शशिकला विक, वडा सचिव अमृतबहादुर थापा तथा कर्मचारीहरू जसबहादुर चेम्जोङ र दुर्गादेवी कोइरालाको उपस्थिति रहेको थियो। साथै ज्येष्ठ नागरिक चौतारी बर्नेका अध्यक्ष ज्ञानबहादुर मगरसहित स्थानीय संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

यसैगरी वडा कार्यालय भवनमा बिहान ११ बजे तथा नमुना आधारभूत विद्यालयमा दिउँसो २ बजे आयोजना गरिएका भेलामार्फत वडा अन्तर्गतका सबै टोलबाट योजना तथा कार्यक्रम संकलन कार्य सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ।

भेलामा सहभागी स्थानीयवासीहरूले आफ्नो क्षेत्रका आवश्यकता, विकास प्राथमिकता, पूर्वाधार निर्माण, सामाजिक विकास तथा सार्वजनिक सेवासँग सम्बन्धित विभिन्न योजना तथा सुझावहरू प्रस्तुत गरेका थिए। संकलित योजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा आगामी आर्थिक वर्ष २०८३/८४ को वडा तथा गाउँपालिकाको वार्षिक योजना निर्माण प्रक्रियामा समावेश गरिने जनाइएको छ।

स्थानीय तहको योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता सुनिश्चित गर्दै विकास योजनालाई आवश्यकतामुखी र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।














