पवन ढकाल झापा , जेष्ठ ३० - लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता स्वर्गीय गणेशमान सिंहको विचार, योगदान तथा अध्ययन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले गणेशमान सिंह प्रतिष्ठानको केन्द्रिय कार्यालयको सम्योजकत्व तथा झापा शाखाको सहजीकरणमा झापाका विभिन्न विद्यालय तथा कलेजका पुस्तकालयहरूमा उपयोगी पुस्तकहरू हस्तान्तरण गरेको छ।

प्रतिष्ठानका केन्द्रीय कार्यालय सचिव दिलीप श्रेष्ठ, प्रदेश सदस्य ज्ञानु थापा, झापा अध्यक्ष सीता गिरी पुरी, उपाध्यक्ष सुदीप बराल, कोषाध्यक्ष कृष्टिना दाहाल तथा सल्लाहकार समिति सदस्य शोभा श्रेष्ठ नेम्बाङ सदस्य सरिता किसान लगायतको टोलीले झापाका विभिन्न शैक्षिक संस्थामा पुगेर पुस्तक हस्तान्तरण गरेको हो।

प्रतिष्ठानले पहिलो चरणमा गोमेन्द्र कलेज, वाल्मीकि कलेज,प्रोबिडेन्स कलेज , बुद्धशान्ति स्थित सितारमेश कलेज तथा श्री माध्यमिक विद्यालयका पुस्तकालयहरूमा शैक्षिक, साहित्यिक, ऐतिहासिक तथा प्रेरणादायी पुस्तकहरू उपलब्ध गराएको जनाएको छ।

पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिष्ठानका पदाधिकारीहरूले विद्यार्थीमा अध्ययन संस्कृतिको विकास, पुस्तकालयको सुदृढीकरण तथा गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनीहरूले पुस्तकालयलाई विद्यालय तथा कलेजको बौद्धिक केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

प्रतिष्ठानका अनुसार पुस्तक वितरण अभियानलाई आगामी दिनमा अझ विस्तार गर्दै झापाका अन्य विद्यालय तथा कलेजहरूमा समेत चरणबद्ध रूपमा पुस्तक उपलब्ध गराइनेछ। शैक्षिक संस्थाहरूमा ज्ञान, अनुसन्धान र अध्ययनप्रतिको रुचि बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिष्ठानले जनाएको छ।

शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानलाई विद्यालय तथा कलेज प्रशासनले स्वागत गरेका छन्। पुस्तकालयमा नयाँ तथा उपयोगी पुस्तक थपिँदा विद्यार्थी, शिक्षक तथा अध्ययन–अनुसन्धानमा संलग्न व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।














