स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई स्वदेशमै टिकाउने उद्देश्यका साथ बिर्तामोड नगरपालिकाको आयोजनामा शनिबारदेखि 'बिर्तामोड रोजगार मेला' भव्यताका साथ सुरु भएको छ।

566666बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा सञ्चालित दुई दिने मेलाको उद्घाटन नगर प्रमुख पवित्रा महतारा प्रसाईं र वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले संयुक्तरुपमा गर्नुभयो।


वर्तमान समयमा दक्ष युवा जनशक्ति पलायन भइरहेको अवस्थामा बिर्तामोड नगरपालिकाले लिएको यो पहलकदमीलाई समाजले निकै सकारात्मक रुपमा लिएको छ। मेलाले १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकलाई एउटै थलोमा रोजगारदातासँग जोड्ने पुलको काम गरेको छ।
8be4bd79-a619-42f4-beed-2846593f062fनगर प्रमुख प्रसाईंले मेलाको उद्घाटन गर्दै भन्नुभयो, "नगरपालिका केवल पूर्वाधार विकासमा मात्र होइन, नागरिकको हातमा काम र ओठमा मुस्कान ल्याउन पनि प्रतिबद्ध छ।" निजी क्षेत्रको उत्साह र सहकार्य मेलामा २५ भन्दा बढी स्टलहरू मार्फत विभिन्न प्रतिष्ठित कम्पनीहरूले रोजगारीको अवसर प्रदान गरिरहेका छन्। बैंक, बिमा, होटल, अस्पतालदेखि निर्माण र प्रविधि क्षेत्रका कम्पनीहरूको उपस्थिति रहेको छ।

555555

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले भन्नुभयो: "निजी क्षेत्र र स्थानीय सरकारबीचको यो समन्वयले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेल्छ। हामीले व्यवसायीहरूलाई आवश्यक जनशक्ति र कामको खोजीमा रहेका युवाहरूबीच सिधा सम्पर्क गराउने प्रयास गरेका छौँ। यसले व्यावसायिक क्षेत्रको उत्पादकत्व बढाउन मद्दत पुग्नेछ।"

02मेलालाई व्यवस्थित बनाउन र रोजगारदाता तथा बेरोजगार जनशक्तिबीच प्रभावकारी समन्वय गर्न सहजकर्ताहरूको टोली अहोरात्र खटिएको छ।मेलाका सहजकर्ता सेवक बजगाईंले जानकारी दिनुभयो: "हामीले मेला सुरु हुनुअघि नै व्यापक तयारी गरेका थियौँ। शुक्रबार साँझसम्म २५ वटा स्टल बुकिङ भइसकेका थिए र आज थप उत्साहजनक सहभागिता देखिएको छ। यस मेलाबाट सयौँ जनाले प्रत्यक्ष रोजगारी पाउने हाम्रो विश्वास छ। विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका र भर्खरै अध्ययन सकेका विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हो।"

8मेलाका मुख्य आकर्षणहरू

  • विविध क्षेत्रको सहभागिता: डीडी सेक्युरिटी, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, एनएमसी सहकारी लगायतका २५ भन्दा बढी स्टलहरू।

  • सीप र दक्षताको पहिचान: दक्ष र अदक्ष दुवैका लागि छुट्टाछुट्टै परामर्श।

  • अन्तरक्रिया कार्यक्रम: उद्योगी–व्यवसायी र सरोकारवालाबीच रोजगारीका चुनौती र अवसरबारे गहन छलफल।

  • थप सेवाहरू: रोजगार सेवा केन्द्र, प्राथमिक उपचार र सोधपुछ कक्षको व्यवस्था।

यो मेलाले बेरोजगार युवाहरूमा आशाको सञ्चार गराएको छ। नगरपालिकाले केवल प्रशासनिक काम मात्र नगरेर नागरिकको जीविकोपार्जनप्रति देखाएको यो चासोले स्थानीय सरकारप्रतिको विश्वास थप बलियो बनाएको छ। उद्योगीहरूले आफूलाई चाहिएको सीपयुक्त जनशक्ति घरदैलोमै पाउँदा व्यावसायिक लागत घट्ने र स्थानीय उत्पादनमा वृद्धि हुने देखिएको छ।

मेला आइतबारसम्म सञ्चालन हुनेछ, जहाँ हजारौँको संख्यामा अवलोकनकर्ता आउने र धेरैले रोजगारीको सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ।