पवन ढकाल, बुद्धशान्ति गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापकीय सुदृढीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।
यसै क्रममा गाउँपालिकाका चार वटा सामुदायिक विद्यालयले पूर्णकालीन प्रधानाध्यापक पाएका छन् भने विद्यालय सुधार योजना, विद्यार्थी मूल्याङ्कन अभिलेखीकरण तथा विषयगत शिक्षक क्षमता विकाससम्बन्धी कार्यक्रमहरू समेत सम्पन्न भएका छन्।

स्थायी शिक्षकहरूबाट प्राप्त विद्यालय विकास प्रस्तावनाको मूल्याङ्कनका आधारमा गडीगाउँ माध्यमिक विद्यालयका घनश्याम आचार्य, आदर्श माध्यमिक विद्यालय जयपुरका हरि पोख्रेल, शान्ति आदर्श माध्यमिक विद्यालयका पूर्णबहादुर राई तथा त्रिभुवन माध्यमिक विद्यालय होक्सेका कुमार आचार्य पूर्णकालीन प्रधानाध्यापकका रूपमा छनोट भएका हुन्।
प्रधानाध्यापक छनोट समितिले विद्यालय विकाससम्बन्धी प्रस्तावनाको मूल्याङ्कनपछि उनीहरूलाई पाँच वर्षे कार्यकालका लागि छनोट गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुखले जानकारी दिनुभयो।
छनोट भएका प्रधानाध्यापकहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापकीय सुधार तथा समग्र विद्यालय विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ।

यसैबीच, विद्यालय शैक्षिक सुधार योजना निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित दुईदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष तथा सदस्य, अभिभावक शिक्षक संघ (पीटीए) का संयोजक तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधार, विद्यालय व्यवस्थापनको प्रभावकारिता, योजना निर्माण प्रक्रिया तथा शैक्षिक सुधारका विविध पक्षबारे छलफल र प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण शिक्षा क्षेत्रका विज्ञ डा. कुमार सुवेदी र पूर्ण गौतमले गर्नुभएको थियो भने शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौला र शिक्षा शाखाकी झल्का अधिकारीले विद्यालय सुधार योजनाको आवश्यकता, स्थानीय तहको भूमिका तथा कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो।

त्यसैगरी शिक्षा शाखाको समन्वयमा आदर्श माध्यमिक विद्यालय जयपुरको सभाहलमा विद्यार्थी मूल्याङ्कन तथा अभिलेखीकरण सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिमूलक शिक्षकहरूको सहभागिता रहेको थियो। प्रशिक्षणको सहजीकरण श्रीकृष्ण दाहाल र डा. कुमार सुवेदीले गर्नुभएको थियो।

यस्तै, बुद्धआदर्श माध्यमिक विद्यालय बुधबारेमा सामुदायिक विद्यालयका गणित विषयका शिक्षकहरूका लागि एकदिने अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गणित शिक्षणका अवधारणा, सिकाइ सहजीकरणका अभ्यास तथा विषयगत अनुभव आदानप्रदानमा केन्द्रित उक्त कार्यक्रमको सहजीकरण डा. कुमार सुवेदी र चन्द्रप्रकाश पौडेलले गर्नुभएको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक अवस्था विश्लेषण गरी सुधारका लागि स्पष्ट योजना निर्माण गर्न सहयोग पुगेको बताएका छन्। विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

गाउँपालिकाले शैक्षिक सुधारलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा विद्यालय केन्द्रित क्षमता विकास, शिक्षक व्यावसायिक विकास तथा सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।














