बिर्तामोड, झापा । विद्यार्थीको शैक्षिक नतिजा र सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको ‘त्रिकोणात्मक सहकार्य’ अपरिहार्य रहेको सरोकारवालाहरूले निष्कर्ष निकालेका छन्।
न्यूटन्स एजुकेसन एकेडेमी, एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमी र लिङ्कन मन्टेस्वरीले संयुक्त रूपमा आयोजना गरेको तीन दिवसीय अभिभावक अभिमुखीकरण कार्यक्रम आज समापन गर्दै यस्तो जोड दिइएको हो ।
बिर्तामोड नगरपालिका–६ का वडा अध्यक्ष सूर्यकुमार कन्दङवाको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा बालबालिकाको भविष्य निर्माणमा शिक्षक र अभिभावकको समन्वय नै मुख्य आधार भएको बताइएको छ।

प्रमुख अतिथि कन्दङवाले शैक्षिक संस्थाहरूले यस्ता कार्यक्रममार्फत अभिभावकलाई सचेत बनाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो।
अभिमुखीकरणका मुख्य वक्ता एवं उत्प्रेरक डा. रविन कटुवालले तीन दिनसम्म अभिभावकहरूलाई सकारात्मक अभिभावकत्व, बाल मनोविज्ञान र पारिवारिक वातावरणको प्रभावबारे सहजीकरण गर्नुभएको थियो।
उहाँले अभिभावकहरूलाई बालबालिकासँग मित्रवत् व्यवहार गर्न र उनीहरूको रुचि एवं क्षमता बुझेर मात्र मार्गदर्शन गर्न विशेष आग्रह गर्नुभयो।
बालबालिकाको भावनालाई बुझेर उनीहरूको व्यक्तित्व विकासमा अभिभावकहरूले सहयोगी भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
डा. कटुवालले बालबालिकाको मनोविज्ञान बुझेर मात्र उनीहरूको क्षमतालाई सही दिशा दिन सकिने तर्फ ध्यानाकर्षण गराउनुभयो।
कार्यक्रममा सहभागी विभिन्न विद्यालयका नेतृत्वकर्ताहरूले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय र घरबीचको दुरी कम हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै न्युटन्सका प्रधानाध्यापक देवेन्द्र हुमागाईले विद्यालय र अभिभावकबीचको निरन्तर सहकार्यले मात्र शैक्षिक वातावरणलाई थप प्रभावकारी र बालमैत्री बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, लिङ्कन मन्टेस्वरीका प्रिन्सिपल सरोज पौडेलले विद्यार्थीको शैक्षिक सफलतामा अभिभावकको सक्रियता अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमका अध्यक्ष एवं एभरेस्ट स्मार्टका प्रधानाध्यापक अनुपम शर्माले विद्यालय र घरबीचको प्रभावकारी सहकार्य तथा नियमित संवादबाट मात्र विद्यार्थीको नैतिक एवं चारित्रिक विकास सम्भव हुने कुरामा जोड दिनुभयो।
उहाँले बालबालिकाको सिकाइ प्रक्रिया विद्यालयमा मात्र सीमित नभई घरपरिवारको सहभागिताले पूर्ण हुने धारणा राख्नुभयो।
एभरेस्ट स्मार्टका प्रधानाध्यापक शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शनिबार कक्षा १ देखि ५ सम्मका ५०० भन्दा बढी उत्साही अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले गरेका थिए ।
वक्ता कटुवालले शनिबार बिहान शिक्षकहरूका लागि समेत विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो ।
तीन दिने कार्यक्रम अन्तर्गत शुक्रबार पहिलो दिन कक्षा ६ देखि १० सम्मका अभिभावकहरूका लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ भने अाज
३१ गते नर्सरीदेखि एभरेष्ट स्मार्ट स्कुलका कक्षागत विद्यार्थीका अभिभावकहरूलाई अभिमुखीकरण प्रदान गरिएकाे विद्यालयले जनाएको छ।
अभिमुखीकरण कार्यक्रमबाट प्राप्त जानकारीले बालबालिकाको अध्ययन र व्यवहार सुधारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रिन्सिपल हुमागाईंले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए।
डा. कटुवालले बालबालिकाको मनोविज्ञान बुझेर मात्र उनीहरूको क्षमतालाई सही दिशा दिन सकिने तर्फ ध्यानाकर्षण गराउनुभयो।















