बिर्तामोड, झापा । विश्व रक्तदाता दिवसको अवसरमा वीरता जेसीजको आयोजनामा बिर्तामोड को वन स्टप मलमा सम्पन्न रक्तदान कार्यक्रमबाट २४ पिन्ट रगत सङ्कलन भएको छ। “रक्तदान जीवनदान” भन्ने मानवीय भावनालाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रमले रगत अभावका कारण उपचारमा रहेका बिरामीहरूलाई सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमका संयोजन उपाध्यक्ष जेसी नवराज अधिकारी रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि वीरता जेसीज वर्ष १९८५ का अध्यक्ष जेसी वेदप्रकाश अग्रवाल रहनुभएको थियो।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग प्रदान गरेको थियो भने विजय किराना पसल र सरगम सटिङ, सुटिङ एण्ड टेलरिङ सेन्टर, बिर्तामोडले सहयोग गरेका थिए।


7a87d346-3d7f-48c8-910f-b29b8a82fd2b

कार्यक्रमको सुरुवातमा वीरता जेसीजका सहकोषाध्यक्ष जेसी अभिषेक गहतराजले जेसी आस्था वाचन गर्नुभएको थियो भने वीरता जुनियर जेसीजका कानुनी सल्लाहकार निश्चल बस्नेतले जेसीआईको मिसन तथा भिजन वाचन गर्नुभएको थियो।

प्रमुख अतिथि जेसी वेदप्रकाश अग्रवालले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै नियमित रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले एक व्यक्तिले गरेको रक्तदानले धेरै बिरामीको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सामाजिक उत्तरदायित्वको रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी र सिनेटर प्रशान्त भण्डारी, पूर्व अध्यक्षहरू जेसी प्रवीण खड्का तथा जेसी विकास बस्नेत, ब्लड डोनर सोसाइटी झापाका अध्यक्ष विष्णु आचार्य, गोर्खा फाउन्डेसनका अध्यक्ष विरु दर्नाल, सशस्त्र प्रहरी बल बेस क्याम्प सनिश्चरेका प्रमुख धनबहादुर बोहरा लगायतको आतिथ्यता रहेको थियो।

सभाध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठले वीरता जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा मानव सेवासँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विश्व रक्तदाता दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट सङ्कलित २४ पिन्ट रगत आवश्यक परेका बिरामीहरूको उपचारमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गर्दै रक्तदानमार्फत समाजमा मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उल्लेख गरेको थियो। उपस्थित वक्ताहरूले पनि स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गरेका थिए।

b39d3026-1707-4f49-a80d-efff644c2ea9

कार्यक्रमको अन्त्यमा वीरता जेसीजका कानुनी सल्लाहकार जेसी प्रभात मास्केले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, प्राविधिक टोली, सहयोगी संस्थाहरू, स्वयंसेवक तथा रक्तदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले समाजमा रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्नुका साथै जेसिज आस्थाको "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने भावनालाई थप मजबुत बनाएको आयोजक वीरता जेसीजले जनाएको छ। रक्तदानजस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने संस्थाले प्रतिबद्धता व्यक्त गरेको छ।