बिर्तामोड। भरत भाबुक प्रसाई , पूर्वी नेपालको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउँदै आएको बीएनसी मेडिकल कलेज टिचिङ हस्पिटलले सर्वसुलभ, गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। अस्पतालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो सेवा विस्तार, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनको सहजीकरण गर्दै बीएनसी मेडिकल कलेजका जनसम्पर्क प्रमुख प्रमिस गिरीले छोटो समयमै झापा लगायत पूर्वी नेपालका सेवाग्राहीहरूको विश्वास जित्न अस्पताल सफल भएको दाबी गर्नुभयो।

उहाँका अनुसार अस्पतालमा हाल २२ वटा क्लिनिकल विभागमार्फत विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ। अस्पतालमा १६ जना प्यारामेडिकल, ६४ जना मेडिकल अफिसर, ८० जना लेक्चरर, ४ जना एसोसिएट प्रोफेसर तथा ३५६ जना दक्ष नर्सिङ जनशक्तिले चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका डाइरेक्टर डा. वीरेन्द्र यादवले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गतका सेवाहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले मृगौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको समेत बताउनुभयो।

डा. यादवका अनुसार आर्थिक वर्ष २०८२ मा अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उक्त अवधिमा १८ हजार ७२० जना आकस्मिक कक्षका बिरामी, २० हजार १६० जना भर्ना (आईपीडी) बिरामी तथा ५० हजार ४०० जना बहिरङ्ग (ओपीडी) बिरामीले सेवा प्राप्त गरेका छन्।

collage 4सोही अवधिमा ६ हजार ४८० जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।

“सबै सेवा एउटै छानामुनि” भन्ने अवधारणाअनुसार अस्पतालले बिरामीलाई आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकीकृत रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालमा ओपीडी, आधुनिक प्रयोगशाला, अनुसन्धान सेवा, जनरल वार्ड, एसी वार्ड, डिलक्स क्याबिन लगायतका सुविधा उपलब्ध छन्। साथै फिजियोथेरापी, पोषण तथा आहार व्यवस्थापन, बिरामी भोजन सेवा लगायत सहयोगी सेवाहरू पनि सञ्चालनमा रहेका छन्।

कार्यक्रममा मुटु रोग विभाग प्रमुख डा. उमेश यादवले पछिल्लो समय अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मुटुरोगीको संख्या बढ्दै गएको बताउनुभयो। त्यस्तै न्यूरो तथा स्पाइन सर्जन डा. निराजन पराजुलीले निकट भविष्यमै स्पाइन एन्डोस्कोपी प्रविधिबाट उपचार सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

डा. पराजुलीले बीएनसी मेडिकल कलेजमा उपचार अत्यन्त महँगो हुने भन्ने गलत धारणा समाजमा फैलाइएको उल्लेख गर्दै अस्पतालले निम्न आय भएका तथा विपन्न वर्गका बिरामीलाई विशेष छुटसहित सेवा उपलब्ध गराउँदै आएको स्पष्ट पार्नुभयो। कतिपय साना स्वास्थ्य संस्थाले बिरामीलाई बीएनसीमा नजान सुझाव दिने गरेको आफूहरूले सुन्ने गरेको उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनमा विभिन्न विभागका प्रमुख चिकित्सकहरूले आफ्नो विभागअन्तर्गत भएका उपलब्धि, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रमको समापनमा डा. वीरेन्द्र यादवले बीएनसी मेडिकल कलेज टिचिङ हस्पिटल पूर्वी नेपालका नागरिकलाई आफ्नै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको बताउनुभयो। विशेषज्ञ जनशक्ति, अत्याधुनिक पूर्वाधार, आधुनिक प्रविधि तथा बिरामी केन्द्रित सेवामार्फत अस्पतालले नेपालको स्वास्थ्य क्षेत्रमा उत्कृष्टताको नयाँ आयाम स्थापित गरिरहेको उहाँको दाबी थियो।