बिर्तामोड नगरपालिकाको सहकार्य तथा अंग्रेजी भाषा समितिको आयोजनामा सम्पन्न ‘अन्तरक्रियात्मक अंग्रेजी मेला’ (Interactive English Fair) मा इडेन गार्डेन एजुकेसन फाउन्डेसनले सानदार जित हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।
ग्रिनफिल्ड वर्ल्ड स्कुलमा आयोजित उक्त भव्य प्रतियोगितामा नगरभित्रका करिब ३० विद्यालयका २०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
मेलालाई कुल ८ वटा फरक–फरक विधाहरूमा विभाजन गरिएको थियो; जसमा पठन (Reading), श्रवण (Listening), मन्तव्य (Speaking), लेखन (Writing), प्रविधि (Technology), साहित्य (Literature), रचनात्मक (Creative) र भाषा खेल (Language Games) समावेश थिए।
यी विविध विधाहरूमध्ये इडेन गार्डेनले ‘भाषा खेल’ विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेर इतिहास रचेको हो। समग्र प्रतियोगितामा समेत विद्यालयले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा इडेन गार्डेनका तर्फबाट छात्र प्रिजम प्रसाईं, आयुष न्यौपाने, कुशल गौतम र छात्रा सोनाली विश्वासले नेतृत्व गरेका थिए। सहभागी विद्यार्थीहरूलाई विद्यालयकी शिक्षिका रीमा शाहले विशेष प्रशिक्षण तथा सहजीकरण प्रदान गर्नुभएको थियो।
मेलामा इडेन गार्डेनको स्टल (Stall) शिक्षाविद्, राजनीतिज्ञ, शिक्षक तथा विद्यार्थीहरूको मुख्य आकर्षणको केन्द्र बनेको थियो।
विद्यार्थीहरूले लेखन सीपको अभिवृद्धि र भाषा खेललाई रचनात्मक ढंगले प्रस्तुत गरेको शैलीको अन्य सहभागी विद्यालयहरूले समेत उच्च प्रशंसा गरेका थिए। इडेन गार्डेनले प्राप्त गरेको यो सफलताले पछिल्लो समय विद्यालयले अपनाउँदै आएको क्रियाकलापमा आधारित शिक्षण (Activity-based teaching) र आधुनिक शिक्षण पद्धतिको बढ्दो प्रभावकारितालाई प्रष्ट पारेको छ।
किताबी ज्ञानमा मात्र सीमित नभई आधुनिक र व्यावहारिक माध्यमबाट विद्यार्थीहरूको चौतर्फी विकास गर्न विद्यालय कसरी अगाडि बढिरहेको छ भन्ने कुरा यसले प्रमाणित गरेको छ।
यो ऐतिहासिक नतिजा हासिल गर्नमा विद्यालयका शिक्षकहरूको अथक मिहिनेत, उचित मार्गदर्शन र निरन्तरको प्रयास मुख्य कडीका रूपमा रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यार्थीहरूको क्षमता पहिचान गरी उनीहरूलाई सफलताको शिखरसम्म पुर्याउन शिक्षक टोलीले प्रदर्शन गरेको समर्पणको सर्वत्र प्रशंसा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं बिर्तामोड नगरपालिकाकी प्रमुख (मेयर) पवित्रा प्रसाईंले इडेन गार्डेनको उत्कृष्ट प्रस्तुतिको प्रशंसा गर्दै विजेता विद्यार्थीहरूलाई प्रमाणपत्रसहित जनही नगद रू. २,००० पुरस्कार प्रदान गर्नुभयो।
यसैबीच, ऐतिहासिक सफलता हात पारेर विद्यालय फर्केका विजेता विद्यार्थीहरूलाई इडेन गार्डेनका प्रमुख कार्यकारी अधिकृत (CEO) महिप आचार्यले एक विशेष समारोहका बीच सम्मान तथा बधाई ज्ञापन गर्नुभएको छ। सोही अवसरमा विद्यालय प्रशासनका तर्फबाट विद्यार्थीहरू र उनीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरूको हौसला बढाउन विद्यार्थीहरूलाई जनही रू. २,८०० अतिरिक्त नगद प्रोत्साहन भत्ता समेत प्रदान गरिएको विद्यालयले जनाएको छ।














