बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय तह पत्रकारहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री विकासका लागि सहकार्य गर्न सदैव तयार रहेको बताउनुभएको छ।
प्रेस सेन्टर नेपाल झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा मंगलबार आयोजित ‘पत्रकारितामा प्रविधिको प्रयोग’ विषयक एक दिने तालिमको उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख संग्रौलाले प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र पनि रूपान्तरण हुँदै गएकाले पत्रकारहरू समयअनुकूल ज्ञान, सीप र प्रविधिसँग अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो।
सत्य, तथ्य र विश्वसनीय सूचनाको प्रवाहमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले स्थानीय सरकार आमसञ्चार क्षेत्र सबलीकरणमा सकारात्मक रहेको उल्लेख गर्नुभयो।
बिर्तामोडमा सम्पन्न उक्त तालिममा अग्रज पत्रकार उमाकान्त खनालले समाचार संकलन, सम्पादन, तथ्य परीक्षण तथा डिजिटल पत्रकारितामा प्रविधिको उपयोगबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले विशिष्ट अतिथिको रूपमा बोल्दै प्रविधिको युगमा व्यावसायिक मूल्य–मान्यता भुल्न नहुने बताउनुभयो।
आयोजक संस्था प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्काले पत्रकारितालाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउन यो तालिम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो।














