झापा, असार २ — इडेन गार्डेन एजुकेसन फाउन्डेसन स्कुलमा गठन गरिएको ‘ उज्यालो  इडेन बाल क्लब’ ले आफ्नो साधारणसभा सम्पन्न गर्दै रोनिशा  प्रसाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बालबालिका सञ्चार मञ्च झापाका अध्यक्ष तथा पत्रकार सरोज पौडेल प्रमुख अतिथि र विद्यालयका सह–प्रधानाध्यापक खेमराज शर्मा विशेष उपस्थित रहनुभएको थियो।

उहाँहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा र टिकाद्वारा सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

c1f1e9f1-d8df-4490-ba1d-d615c8adf132

विद्यालयका सीईओ महिम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सह–प्रधानाध्यापक खेमराज शर्माले झापाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लबहरूमध्ये  उज्यालो  इडेन बाल क्लबलाई उदाहरणीय र अब्बल क्लबका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नवगठित कार्यसमितिलाई विद्यालय, विद्यार्थी र समुदायबीच सकारात्मक पुलको भूमिका निर्वाह गर्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो।

f2ae4103-5754-4fcb-a138-8edea33330e1

विशिष्ट अतिथि भरत प्रसाईंले बाल क्लबलाई विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सिर्जनात्मक प्रतिभा प्रस्फुटनको प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले इडेन गार्डेन एजुकेसन स्कुलले बालमैत्री शिक्षण–सिकाइ र रचनात्मक गतिविधिका क्षेत्रमा विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नयाँ कार्यसमितिले अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो।

IMG_8613

त्यसैगरी, विद्यालयका शिक्षक तथा बाल क्लबका फोकल पर्सन गीताराम आचार्यले बाल क्लबको औचित्यमाथि प्रकाश पार्दै विगतमा क्लबले अपेक्षाअनुरूप रचनात्मक तथा प्रभावकारी गतिविधि सञ्चालन गर्न नसकेको स्वीकार गर्नुभयो।

अब नवगठित कार्यसमितिले सृजनशील, सकारात्मक र विद्यार्थीमैत्री कार्यक्रममार्फत विद्यालय परिवारको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।

बालबालिका सञ्चार मञ्च झापाका अध्यक्ष तथा पत्रकार सरोज पौडेलले बाल क्लब विद्यार्थीहरूको क्षमता, नेतृत्व र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण संरचना भएको बताउँदै क्लबप्रति अपनत्वको भावना विकास गर्न आग्रह गर्नुभयो।

IMG_8610

उहाँले “मेरो क्लब” भन्ने भावनाका साथ जिम्मेवारी बहन गर्न सके बाल क्लब अझ प्रभावकारी बन्ने धारणा राख्नुभयो।

साधारणसभाबाट उपाध्यक्षमा विजेता सुब्बा, सचिवमा नोसाङ श्रेष्ठ तामाङ, सहसचिवमा आयुष्मा रसाइली र कोषाध्यक्षमा सगुन माझी सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा विकल ओली, आश्रेन श्रेष्ठ, मानिष लिम्बु, स्मृति कडरिया, रिवाज बस्नेत, कुशल बस्नेत, आराध्य न्यौपाने, भूमिका चौधरी, अमृता खतिवडा र मनिषा अधिकारी चयन भएका छन्।

 विद्यालयका सीईओ महिम आचार्यले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाएर विद्यालयको गरिमा अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

IMG_8609

उहाँले बाल क्लबमार्फत विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व र सिर्जनशीलताको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

नवगठित कार्यसमितिले आगामी दिनमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, सामाजिक सचेतना तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै विद्यालयको शैक्षिक तथा सामाजिक वातावरणलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।