पवन ढकाल बुद्ध्शान्ति -४
समयको एउटा महत्त्वपूर्ण खण्ड मेरो जीवनमा विशेष मोड बनेर आयो। सधैंझैं क्यामेरा भिरेर विद्यालयको अभिभावक भेलाका दृश्यहरू कैद गरिरहेको थिएँ। कार्यक्रम चलिरहेकै बेला दोस्रो चरणको बैठक बस्यो र समुदाय तथा विद्यालयले मलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी सुम्पियो। त्यो क्षण पद प्राप्तिको अवसर मात्र थिएन, आफ्नै माटोले हुर्काएको एउटा सन्तानलाई आफ्नै विद्यालयको नेतृत्व गर्ने विश्वास दिएको गौरवपूर्ण क्षण थियो।

हरसिद्धि , सुनमाइ, टिमाई खोला र खोल्साका पानी पिएर हुर्किएको म, यही गाउँको बर्ने प्रावि र निमाविबाट अध्ययन गरेको विद्यार्थी, त्यही विद्यालयको व्यवस्थापकीय जिम्मेवारीमा पुग्दा मनमा हर्ष, गर्व र उत्साहसँगै चुनौतीको अनुभूति पनि उत्तिकै थियो।

जिम्मेवारी सम्हालेपछि पहिलो बैठक बसेर विद्यालयप्रति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण समुदाय, अभिभावक, शुभेच्छुक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरियो। नयाँ शैक्षिक सत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर छलफल सुरु भयो। त्यसको निरन्तरतास्वरूप अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो र विद्यार्थीहरूलाई विद्यालयसँग अझ नजिक राख्ने उद्देश्यले शिक्षक तथा समितिका सदस्यहरूद्वारा घरदैलो अभियान सञ्चालन गरियो। घर–घर पुगेर विद्यार्थीहरूको अवस्था बुझ्ने र अभिभावकसँग संवाद गर्ने कार्यले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनायो।

सामुदायिक विद्यालयको आत्मा भनेकै समुदाय हो। यही विश्वासका आधारमा विद्यालय स्थापनादेखि योगदान पुर्याउँदै आउनुभएका जग्गादाता, चन्दादाता, पूर्वविद्यार्थी, पूर्वअध्यक्ष, पूर्वशिक्षक, समाजसेवी, महिला समूह, क्लब तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई समेटेर सल्लाहकार समिति गठन गरियो। विद्यालयको भविष्य निर्माणमा अनुभव र सुझावलाई मार्गदर्शनका रूपमा उपयोग गर्ने उद्देश्यले गठन गरिएको यो समिति विद्यालयका लागि महत्वपूर्ण सहयोगी बन्यो।

यसैबीच अघिल्लो कार्यसमितिबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने क्रममा विद्यालयमा गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तथा महिला फोकल पर्सनको व्यवस्था गरियो। उनीहरूको विवरणसहित सूचना बोर्ड राखियो। विद्यार्थी, शिक्षक र अभिभावकका लागि आचारसंहिता निर्माण गरी विद्यालयलाई थप अनुशासित र व्यवस्थित बनाउने प्रयास गरियो।वैशाख २० गतेदेखि नियमित पठनपाठन सुरु भएपछि विद्यालय सुधारका गतिविधिहरूले थप गति लिए।

विद्यार्थी र अभिभावकको आग्रहअनुसार कक्षाकोठा तथा विद्यालय परिसरको रङरोगन गरियो। विद्यालयलाई आकर्षक र बालमैत्री बनाउने अभियानसँगै शैक्षिक गुणस्तर सुधारका विषयमा निरन्तर छलफलहरू चलिरहे।

विद्यार्थीहरूको घरमा अध्ययन गर्ने वातावरण बलियो बनाउन विभिन्न टोल- टोलमा सामूहिक अध्ययन केन्द्रहरूको व्यवस्था मिलाइयो। २३ भन्दा बढी स्थानमा विद्यार्थीहरू साँझको समयमा भेला भएर पढ्ने वातावरण सिर्जना गरियो र सो कार्यक्रम अहिलेसम्म निरन्तर चलिरहेको छ। विद्यालयभित्र अतिरिक्त कक्षा, शैक्षिक क्रियाकलाप तथा शिक्षकसँगको अन्तरक्रियालाई पनि तीव्रता दिइयो।
बालबालिकाको सिकाइलाई व्यवहारिक बनाउन स्थानीय पर्यटकीय स्थल भाइरल शिरीष परिशरमा अवलोकन भ्रमणको आयोजना गरियो। भ्रमणबाट विद्यार्थीहरू उत्साहित देखिए भने उनीहरूको ज्ञान र अनुभवको दायरा पनि फराकिलो बन्यो। विद्यालयप्रति समुदायको विश्वास बढ्दै जाँदा अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य संख्यामा नयाँ विद्यार्थी भर्ना हुन आए। विद्यालयले उनीहरूलाई सम्मानपूर्वक स्वागत गर्यो।

विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपियो। विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागी गराउँदै वातावरण संरक्षण र सरसफाइप्रति सचेत बनाउने प्रयास गरियो। सार्वजनिक स्थलहरू सफा राख्न प्रेरित गर्ने अभियान पनि सञ्चालन गरियो।

केही समयअघि पूर्वविद्यार्थी ख्याम लिम्बुको सहयोगमा निर्माण गरिएको विद्यालय पुस्तकालयलाई पूर्णता दिने कार्यलाई निरन्तरता दिइयो। पुस्तकालयका लागि पुस्तक तथा अन्य शैक्षिक सामग्रीहरू प्राप्त भइरहेका छन्। स्थानीय समाजसेवी तथा सल्लाहकार समिति सदस्य ज्ञानु थापाको समन्वयमा गणेशमान सिंह प्रतिष्ठानबाट विभिन्न पुस्तकहरू प्राप्त भए। त्यसैगरी विद्यालयका पूर्वविद्यार्थी मिलन निरौलाले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन एक थान मिनी वायरलेस माइक्रोफोन–एम्प्लिफायर सेट सहयोग प्रदान गर्नुभयो। यस्ता सहयोगहरूले विद्यालयको शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन्।

यसरी विद्यालय सुधारका विभिन्न योजनाहरू अघि बढिरहेका बेला राज्यले विद्यालय व्यवस्थापन समितिका मनोनीत सदस्यहरू पदमुक्त हुने व्यवस्था लागू गर्यो। मनोनीत सदस्यहरु उर्मिला ढुङेल र मेरो प्रत्यक्ष जिम्मेवारी मुक्त भयो,त्यसले विद्यालय स्थापनादेखि योगदान पुर्याउँदै आएका संस्थापक, जग्गादाता, समाजसेवी तथा विद्यालयसँग जोडिएका धेरै व्यक्तिहरूको मनोबलमा केही असर पुर्यायो। तर कानुनी व्यवस्था कार्यान्वयन गर्नु सबैको दायित्व भएकाले त्यसलाई स्वीकार गर्नुको विकल्प थिएन।

आज विद्यालयले नयाँ नेतृत्व पाएको छ। युवा, ऊर्जाशील र सक्षम व्यक्तित्व सरिता किसान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको छ। उहाँको नेतृत्वमा विद्यालय अझ समुदायसँग नजिकिने, शैक्षिक र भौतिक विकासका नयाँ आयामहरू स्थापित हुने विश्वास छ।

मेरो नेतृत्व अवधि छोटो रह्यो, तर त्यो समय समुदायको विश्वास, शिक्षकहरूको समर्पण, अभिभावकहरूको सहयोग र साथीहरूको अथक प्रयासले भरिएको स्मरणीय यात्रा बन्यो। प्रधानाध्यापक टंकनाथ घिमिरे, सहायक प्रधानाध्यापक भूपेन कार्की, पीटीए अध्यक्ष महानन्द गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू दुर्गा पोख्रेल ढुङेल, शिक्षक प्रतिनिधि गुणराज अर्याल , शन्तोस शेर्मा, सिमा परियार राजकुमारी लिम्बू, सरिता किसान, ( हाल अध्यक्ष ), सम्पूर्ण शिक्षक, अभिभावक, सल्लाहकार समिति तथा समुदायका हरेक सहयोगीप्रति म हृदयदेखि आभारी छु।

पदबाट अलग भए पनि म यो विद्यालयको अभिभावक हुँ, यही माटोको उत्पादन हुँ। विद्यालयको उन्नति, प्रगति र समृद्धिका लागि मेरो साथ, सहयोग र चिन्ता सधैं रहनेछ। लामो इतिहास बोकेको हाम्रो विद्यालय अझ सफल, समृद्ध र उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित होस् भन्ने शुभेच्छासहित यो स्मरणीय यात्रालाई सम्मानपूर्वक सम्झन चाहन्छु।

बिद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि चेतना जगाउने उद्देश्यले आयोजित कार्यक्रम पछिको तस्बिर
विद्यालय एउटा भवन मात्रै होइन, समुदायको सपना हो। र त्यो सपना साकार पार्ने यात्रामा प्रत्येक पुस्ताको योगदान अमूल्य हुन्छ।
धन्यवाद नमस्कार ।














