झापाकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोड बजारको बीचभाग भएर बग्ने अदुवा खोलालाई व्यवस्थित बनाउँदै सुरु गरिएको अदुवा खोला कोरिडोर निर्माण परियोजनाले स्थानीयमा नयाँ उत्साह थपिदिएको छ।

बिर्तामोडलाई आधुनिक, सुन्दर र व्यवस्थित सहरका रूपमा रूपान्तरण गर्ने लक्ष्यका साथ अघि बढाइएको यो आयोजनालाई झापाका स्थानीय सञ्चारमाध्यमहरूले समृद्धिको ढोकाका रूपमा व्याख्या गर्दै आएका छन्।

झापाको व्यापारिक केन्द्र बिर्तामोडको मुटु भएर बग्ने अदुवा खोला, कतिपय अवस्थामा वर्षायाममा कटान र डुबानको त्रास फैलाउने यही खोलालाई अहिले एउटा सुन्दर करिडोर र पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गर्ने प्रयास भइरहेको छ।

पूर्व सभामुख देवराज घिमिरेको विशेष पहलमा सुरु भएको 'अदुवा खोला करिडोर परियोजना'ले अहिले बिर्तामोडको स्वरुप नै बदल्ने संकेत गरेको छ।

विगतका वर्षहरूमा वर्षायाम सुरु हुनासाथ बिर्तामोडको मुख्य बजारक्षेत्र र आसपासका बस्तीमा अदुवा खोलाको बाढी पस्ने ठुलो समस्या थियो।

तर कोरिडोर अन्तर्गत खोलाको दायाँ-बायाँ पक्की पर्खाल र बलियो तटबन्धन (Embankment) निर्माण भएपछि अब बिर्तामोड बजार बाढी र डुबानबाट सुरक्षित भएको छ ।

collage (1) 4खोला किनार व्यवस्थित भएर सुन्दर सडक निर्माण भएसँगै आसपासका जग्गा र घरहरूको व्यावसायिक मूल्य (Property Value) मा निकै ठुलो वृद्धि भएको छ।

पूर्व-पश्चिम राजमार्गदेखि ओम शान्ति टोलसम्मको निर्माणले स्थानीयलाई ठूलो राहत त पुगेको छ, तर बजेट अभावका कारण वडा नम्बर ३ हुँदै ९ सम्म विस्तार गर्ने योजना भने अहिले सुस्ताएको छ।

यसबारे बिर्तामोड वडा नम्बर ४ का वडा अध्यक्ष राहुल कुमार शर्मा भन्नुहुन्छ"यो पूर्वपश्चिम राजमार्ग अदुवा पुलदेखि ओम शान्ति टोलसम्म निर्माण सम्पन्न भएको छ।

 यसले अदुवा खोलाको दुवैतर्फ बसोबास गर्ने स्थानीय जनतालाई ठूलो सुविधा पुगेको छ र बिर्तामोडको सौन्दर्यकरण तथा खोलाको संरक्षणमा पनि यो करिडोर फलदायी भएको छ।

स्थानीय जनताले स्वतःस्फूर्त रूपमा करिडोर निर्माणका लागि जग्गा प्रदान गर्नुभएको छ।

 यस कोरिडोरलाई वडा नम्बर ३ हुँदै वडा नम्बर ९ सम्म विस्तार गर्ने योजना भएतापनि संघीय सरकारबाट बजेट नआएको कारण काम अगाडि बढ्न सकेको छैन।

संघीय सरकारले अपुग बजेटको व्यवस्थापन गरी यस परियोजनालाई पूर्णता दिनेमा म विश्वस्त छु।"

  बिर्तामोड नगरपालिकाका वडा नम्बर १, , , , ९ र १० को भूगोल छुँदै दक्षिणतर्फ बग्ने यो खोलाको व्यवस्थापन केवल बाटो निर्माणमा मात्र सीमित छैन। खोलालाई प्राकृतिक रूपमै बग्न दिने, कटान रोक्न टार जाली र ढुङ्गा लगाउने तथा दीर्घकालीन रूपमा सुरक्षित बस्ती बसाउने गुरुयोजना नगरपालिकाको छ।

 अभियान र वर्तमान बजेट कटौतीको प्रभावबारे बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला यसाे भन्नु हुन्छ 

"पूर्व सभामुख देवराज घिमिरेको पहलमा दुई कार्यकाल यस करिडोरको विस्तारका लागि बजेट निकासा गर्न विशेष भूमिका खेलिएको थियो। हामीले कोरिडोर विस्तारसँगै अदुवा खोलाको व्यवस्थापनका लागि तार जाली ढुङ्गा र रिटेनिङ वाल लगाउने काम गरेका छौँ, कतैकतै पेबर्स लगाई सडक निर्माणलाई अगाडि बढाइएको छ।

तर संघीय सरकारले यो आर्थिक वर्षको बजेट कटौती गरेपछि निर्माण विस्तार र तटबन्धको काम अहिले रोकिन पुगेको छ।

नगरपालिकाको उद्देश्य भनेको भोलिका दिनमा खोलाको निकटमा घरजग्गा पास गरेर घर बनाउँदा स्थानीय जनतालाई सहज होस्, खोलाको तटबन्धन गर्नुपर्ने बाध्यता नहोस् र जनधनको क्षति नहोस् भन्ने हो।

त्यसैले हामीले खोलाबाट बिस-बिस फिट दायाँबायाँ कोरिडोर निर्माण गर्ने अभियान सुचारु गरेका हौँ। जहाँ घर बनेको छैन, त्यहाँ जग्गा खाली गर्न लगाइएको छ।

हाम्रो गुरुयोजना खोलाको संरक्षण गर्दै दायाँबायाँ सडक निर्माण गरी वृक्षरोपण गर्ने र यसलाई स्थानीय आन्तरिक पर्यटकहरूको भ्रमण तथा सुस्ताउने सुन्दर प्राकृतिक स्थल बनाउने हो।

स्थानीयको सक्रिय सहभागिता र जनप्रतिनिधिहरूको कसिँदो कम्मरका बीच संघीय सरकारले बजेट कटौती गरिदिँदा यो ड्रिम प्रोजेक्टले पूर्णता पाउन सकेको छैन।

खोला किनारलाई प्राकृतिक पार्क र आन्तरिक पर्यटनको केन्द्र बनाउने बिर्तामोडको यो सपनालाई साकार पार्न संघीय सरकारले बजेटको पुनः व्यवस्थापन गर्नैपर्ने देखिन्छ।

"जनताको स्वतःस्फूर्त जग्गादान र स्थानीय सरकारको पर्यटकीय गुरुयोजना हुँदाहुँदै पनि बजेट अभावकै कारण अदुवा खोला करिडोरको काम रोकिनु दुःखद छ।

वातावरण संरक्षण र सहरी सौन्दर्यको यो कडीलाई जोड्न केन्द्र सरकारको ध्यान कहिले पुग्ला?