बिर्तामोड, झापा ।भरत प्रसाई ,संगीत क्षेत्रमा क्रियाशील युवा तथा नवप्रतिभाहरूलाई आफ्नो कला, क्षमता र सृजनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘झापा रकस्टार–३’ खुल्ला ब्यान्ड प्रतिस्पर्धा कोशी प्रदेशस्तरीय रूपमा आयोजना हुने भएको छ।
विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको उक्त कार्यक्रम अमृत स्टोर बिर्तामोड को आयोजनामा तथा एनएसएस इभेन्ट को व्यवस्थापनमा सञ्चालन हुँदै आएको हो।
कार्यक्रमले झापा तथा पूर्वी नेपालका उदाउँदा ब्यान्ड तथा संगीतकर्मीहरूलाई व्यवस्थित मञ्च प्रदान गर्दै आएको आयोजकले जनाएको छ।
यस संस्करणका लागि गत वैशाख ५ गतेदेखि १० गतेसम्म आवेदन खुला गरिएको थियो। कोशी प्रदेशका विभिन्न जिल्लाबाट ब्यान्डहरूको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरणको डिजिटल अडिसनमा करिब १२ वटा ब्यान्ड सहभागी भएका थिए।
कार्यक्रमको मापदण्ड र प्रस्तुतिका आधारमा उत्कृष्ट ब्यान्डहरूलाई दोस्रो चरणका लागि छनोट गरिएको आयोजकले जनाएको छ।

आगामी फिजिकल अडिसनबाट छनोट हुने उत्कृष्ट पाँच ब्यान्डले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा प्रथम हुने ब्यान्डले ५० हजार रुपैयाँ नगद, Living Stone V1M Guitar, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो, दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद, पोर्टफोलियो सुट तथा Everest Guitar र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद, पोर्टफोलियो सुट तथा Sound Scape Guitar प्राप्त गर्नेछन्।
झापाको बिर्तामोडस्थित अमृत स्टोरमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमकी निर्देशक सुनिता तामाङ ले झापा मात्र नभई समग्र कोशी प्रदेशका नवप्रवेशी तथा प्रतिभाशाली संगीतकर्मीहरूलाई मञ्च उपलब्ध गराउने उद्देश्यले कार्यक्रमलाई अझ बृहत् बनाइएको बताउनुभयो।
उहाँले प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो।
बाइट – सुनिता तामाङ, निर्देशक "पूर्वी नेपालका युवा तथा नवप्रतिभाशाली संगीतकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिन र संगीत क्षेत्रलाई थप व्यावसायिक तथा प्रतिस्पर्धात्मक बनाउन कार्यक्रमलाई कोशी प्रदेशस्तरीय बनाएका हौं।"
प्रतियोगितामा विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले सहयोग गरेका छन्। प्रतियोगिताको इनर्जी ड्रिङ्क पार्टनर एक्सट्रिम इनर्जी ड्रिङ्क, आई केयर पार्टनर मेची आई हस्पिटल, सपोर्टेड बाइ नानुबाबु, एभरेस्ट, साउन्ड स्केप, डिजिटल मार्केटिङ एसोसिएट डिजीभेन्ट, मिडिया एसोसिएट खबरखेती डटकम तथा आँगन एफएम ले लाइभ स्ट्रिमिङ साझेदारको भूमिका निर्वाह गर्नेछन्।
कार्यक्रमका चेयरम्यान अमृत पौडेल ले समयसँगै संगीतको स्वरूप र शैली परिवर्तन हुँदै गएकाले युवापुस्ताको ढुकढुकी बनेका ब्यान्डहरूबीचको प्रतिस्पर्धाले नेपाली संगीतमा नयाँ फ्युजन र सिर्जनशीलता थप्ने विश्वास व्यक्त गर्नुभयो।

"युवा पुस्ताको संगीतप्रतिको आकर्षणलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँदै नयाँ प्रतिभा उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेकाे इभेन्टका चेयरम्यान अमृत पौडेलले बताउनु भयाे ।
पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै इभेन्टका जनसम्पर्क अधिकारी प्रकाश संग्रौलाले आगामी असार १५ गते मोक्ष द रेस्टुरेन्टमा फिजिकल अडिसन सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँले तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले सकारात्मक प्रतिक्रिया र सुझाव प्राप्त गरिरहेको बताउनुभयो।
विद्यालयका विद्यार्थी तथा पूर्वका विभिन्न जिल्लाबाट निरन्तर फोन, म्यासेज र चासो व्यक्त हुने गरेको उहाँको भनाइ थियो।
"झापा रकस्टारले नयाँ पुस्ताका संगीतकर्मीलाई मञ्च प्रदान गरेको छ। सहभागी र दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले हामीलाई थप ऊर्जा दिएको उहाँको भनाइ छ ।
पत्रकार सम्मेलनको सहजीकरण खबरखेती डटकमका सम्पादक तथा इभेन्टका मिडिया कोर्डिनेटर तिलक योन्जनले गर्नुभएको थियो।














