बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ स्थानीय सरोकारवालाहरुको सहभागितामा विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकालाई बालमैत्री घोषणा गर्न आवश्यक मापदण्ड र सूचकहरूका विषयमा सरोकारवालाहरूलाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
बिहीवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बालबालिका सम्बन्धी विभिन्न सूचकहरुको प्रवद्र्धन तथा कार्यान्वयनका रणनीतिबारे विस्तृत छलफल भएको थियो।
बिर्तामोड नगरपालिकाको आयोजना तथा लक्ष्य परामर्श तथा अनुसन्धान केन्द्र प्रालिको प्राविधिक सहयोगमा सञ्चालित उक्त अभिमुखीकरणमा प्रशिक्षक बिजय तिम्सिनाले सहजीकरण गर्दै बालमैत्री नगरका लागि आवश्यक सूचकहरूका प्राविधिक पक्षबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडलाई बालमैत्री नगर घोषणा गर्न सबै क्षेत्रको सामूहिक प्रयास र सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले बालमैत्री नगरको गरिमा हासिल गर्नका लागि तोकिएका ५१ वटा सूचकहरू पूरा गर्नुपर्ने दायित्व रहेकाले सबैलाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो।
नगर उप–प्रमुख संग्रौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक अभिषेक मिश्रले गर्नुभएको थियो।
अभिमुखीकरणमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेल, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा नगरपालिकाका सबै शाखाका प्रमुख, प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो।














