झापा/इलाम : वर्षौंदेखि पक्की पुलको माग गर्दै राज्यका विभिन्न निकायको ढोका ढकढक्याउँदा पनि सुनुवाइ नभएपछि स्थानीयवासी आफैं वैकल्पिक उपाय खोज्न बाध्य भएका छन्।
इलामको रङ गाउँपालिका–२ र झापाको अर्जुनधारा नगरपालिका–२ लाई छुट्याउने दुधेखोलामा स्थानीयले श्रमदानमार्फत बाँसको अस्थायी पुल निर्माण सुरु गरेका छन्।
बर्खायाम सुरु भएसँगै दुधेखोलामा पानीको बहाव बढ्ने र आवतजावत पूर्ण रूपमा प्रभावित हुने समस्या यहाँका बासिन्दाले वर्षौंदेखि झेल्दै आएका छन्। स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसमक्ष पटक–पटक पुल निर्माणको माग राखिए पनि ठोस पहल नहुँदा स्थानीयहरू आफैं श्रम, समय र स्थानीय स्रोत–साधन परिचालन गरी पुल निर्माणमा जुटेका हुन्।
दुधेखोलामा निर्माणाधीन बाँसको पुलले अर्जुनधारा–२ को बेल्टार, गाँजाबारी हुँदै मिश्रटार क्षेत्रलाई खोला पारिको दुधे, मङ्गलटार हुँदै मेची राजमार्गसँग जोड्नेछ। यस मार्गबाट दैनिक आवतजावत गर्ने सयौं विद्यार्थी, कृषक, व्यापारी तथा सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार पक्की पुल नहुँदा वर्षेनी जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको छ। बर्खाको समयमा बिरामी ओसारपसारदेखि विद्यालय जाने विद्यार्थी र कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन समेत कठिनाइ हुने गरेको छ।
स्थानीयको यो सक्रियता राज्यका लागि समेत एउटा सन्देश बनेको छ। जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने जिम्मेवारी राज्यको भए पनि आवश्यक पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले नागरिक आफैं समाधान खोज्न बाध्य भएका छन्।
चुनावका बेला विकासका आश्वासन बाँड्ने राजनीतिक नेतृत्व र सम्बन्धित निकायले अब यस्ता अत्यावश्यक भौतिक संरचनालाई प्राथमिकतामा राखी स्थायी समाधानका लागि बजेट विनियोजन गर्नुपर्ने स्थानीयको माग छ।
जनताको श्रम र एकताले अहिले दुधेखोलामा अस्थायी पुल त बन्दैछ, तर दिगो समाधानका लागि राज्यको सक्रिय हस्तक्षेप अपरिहार्य देखिएको छ।














