बुद्धशान्ति गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो चरण सम्पन्न भई आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित भएको छ।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष भवानीप्रसाद खतिवडाले ६४ करोड १८ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्नुभएको थियो।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरिए पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका ठूला, नवीन तथा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम भने खासै समावेश हुन नसकेको टिप्पणी हुन थालेको छ।

अघिल्ला वर्षहरूमा जस्तै अधिकांश कार्यक्रमहरू निरन्तरतामै केन्द्रित देखिएका छन्। स्थानीय उत्पादनको ब्राण्डिङ, ज्येष्ठ नागरिकलाई रेडियो वितरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारात्मक कार्यक्रमजस्ता विषय समेटिए पनि गाउँपालिकाको समग्र विकासमा नयाँ आयाम थप्ने महत्वाकांक्षी योजनाको अभाव महसुस गरिएको छ।

गाउँसभामा उत्कृष्ट उपभोक्ता समिति तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने नीति तथा कार्यक्रम र बजेटमाथि छलफलसमेत भएको थियो। यद्यपि, आगामी वर्षलाई लक्षित गरी विशेष आकर्षण बन्न सक्ने ठूला पूर्वाधार, लगानी, उत्पादनमूलक उद्योग वा युवालाई केन्द्रमा राखेर ल्याइने कार्यक्रमबारे स्पष्ट खाका नआएको भन्दै केही सहभागीले यसलाई औपचारिकतामा सीमित नीति तथा कार्यक्रमको संज्ञा दिएका छन्।

समृद्ध बुद्धशान्ति निर्माणको लक्ष्यसहित बजेट तथा कार्यक्रम अघि सारिए पनि त्यसको प्रभावकारिता भने कार्यान्वयनको चरणले नै पुष्टि गर्ने देखिन्छ।














