बिर्तामोड । उज्यालो चारपाने बाल क्लबको तेस्रो अधिवेशनबाट हंशिका चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटन बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा साङ्वेद विद्यालयका विद्यार्थीहरूले स्वस्तिवाचन प्रस्तुत गरेका थिए भने देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाङ्कर मैनालीले प्रमुख अतिथि पौडेललाई टोपी पहिराएर औपचारिक स्वागत गर्नुभएको थियो।
उज्यालो चारपाने बाल क्लबका अध्यक्ष ईशान भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल प्रमुख अतिथि तथा देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिवाङ्कर मैनाली विशिष्ट अतिथि रहनुभएको थियो।
क्लबकी उपाध्यक्ष समृद्धि खड्काले स्वागत मन्तव्य व्यक्त गर्दै बाल क्लबले बालबालिकाको चौतर्फी विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वको भावना विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो।
अध्यक्ष ईशान भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतका गतिविधिको समीक्षा गर्नुभएको थियो। उहाँले नवगठित कार्यसमितिलाई अझ ऊर्जाशील, सिर्जनशील र जिम्मेवार ढङ्गले काम गर्दै क्लबलाई थप उचाइमा पुर्याउन शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक दिवाङ्कर मैनालीले नयाँ कार्यसमितिलाई अवसरसँगै चुनौती पनि रहेको उल्लेख गर्नुभयो।
स्थापित कार्यक्रम र संस्कारलाई निरन्तरता दिँदै आफूलाई अझ परिस्कृत रूपमा प्रस्तुत गर्नुपर्ने जिम्मेवारी नयाँ नेतृत्वमा आएको बताउँदै उहाँले सम्पूर्ण वडा भित्रका बालबालिकाको हक, हित र अधिकारका पक्षमा सशक्त आवाज उठाउने अवसरका रूपमा यसलाई लिन आग्रह गर्नुभयो।
प्रमुख अतिथि किशोरकुमार पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बाल क्लबका पदाधिकारीहरूले अनुशासनलाई पहिलो प्राथमिकतामा राखी वडासँग सहकार्य गर्दै बालबालिकाको बौद्धिक, सामाजिक तथा नेतृत्व विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।
उहाँले बालश्रम अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिले उद्योग, कलकारखाना तथा व्यवसायिक क्षेत्रमा पुगेर बालबालिकालाई जबरजस्ती श्रममा लगाइएका घटनाविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रत्येक बालबालिकामा फरक–फरक क्षमता हुने भएकाले आफ्नो प्रतिभा पहिचान गरी निरन्तर मेहनत गरे सफलता निश्चित हुने विश्वास समेत व्यक्त गर्नुभयो।
फोकल पर्सन तथा बालबालिका सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै बिर्तामोड–२ लाई बालमैत्री वडा बनाउन जनप्रतिनिधिहरूले निरन्तर साथ र सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा पनि बालअधिकार संरक्षण, नेतृत्व विकास र बालमैत्री वातावरण निर्माणका अभियानलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
अधिवेशनबाट अध्यक्षमा हंशिका चौधरी, उपाध्यक्षमा मनिष चौधरी, सचिवमा खगेन्द्र पवले, सहसचिवमा सृष्टि यादव र कोषाध्यक्षमा प्रशंसा प्रसाई निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा सञ्चित सिङ्घल, निकिता अधिकारी, प्रकृति अधिकारी, जेसिका कार्की, स्नेह रसाइली, प्रतीक्षा, रोमन दर्जी र रोजिना बिक चयन हुनुभएको छ।
निर्वाचनपछि अध्यक्ष हंशिका चौधरीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै वडा भित्रका सबै बाल क्लबलाई एकताबद्ध बनाएर बालबालिकाको हक, अधिकार, क्षमता विकास तथा नेतृत्व अभिवृद्धिका लागि सक्रियतापूर्वक विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। उहाँले बिर्तामोड–२ बालमैत्री वडाका रूपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै यस पहिचानलाई अझ मजबुत बनाउन नयाँ कार्यसमितिले समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा बिर्तामोड–२ का खेलकुद विकास समितिका अध्यक्ष पंकज सिग्देल, वडा सदस्य शर्मिला त्रिखत्री, वडा सचिव हिमा पोखरेल, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, सारा साकोसका फोकल पर्सन विजय सुवेदी, वडा भित्रका सातवटै विद्यालयका फोकल पर्सन, शिक्षक–शिक्षिका तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिर्तामोड–२ लाई बालमैत्री वडा बनाउने अभियान सञ्चालन गर्ने पहिलो वडाका रूपमा चिनिँदै आएको छ। हाल वडा भित्र रहेका मोहनमाया माध्यमिक विद्यालय, साङ्वेद संस्कृत माध्यमिक विद्यालय, सारा साकोस, बालकल्याण विद्यालय, देवकुल अङ्ग्रेजी माध्यमिक विद्यालय, वीर अमरसिंह विद्यालय र पञ्चरत्न विद्यालयमा बाल क्लब गठन भइसकेका छन्।
यिनै सातवटा विद्यालयका प्रतिनिधिहरूबाट प्रत्येक वर्ष वडा बाल क्लबको नयाँ कार्यसमिति चयन गर्ने परम्परा रहँदै आएको छ।
कार्यक्रमको सहजीकरण क्लबका फोकल पर्सन तथा बालबालिका सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले गर्नुभएको थियो।














