बुधबारे, झापा । बुद्धशान्ति गाउँपालिकाको कृषि तथा मत्स्य शाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत बुद्धशान्ति मौरी पालक कृषक समूहलाई ८१ थान Serena Newton B Type आधुनिक मौरीका घार वितरण गरिएको छ। स्थानीय जातको सेरेना मौरी संरक्षण तथा व्यावसायिक पालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त घार वितरण गरिएको हो।

IMG-20260628-WA0050

समूहको कार्यालयमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष पञ्चहरि गौतमको अध्यक्षता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा प्रमुख अतिथि तथा आर्थिक लेखा समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष अनिल वाग्ले विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन समूहका सचिव पवन ढकालले गर्नुभएको थियो।

IMG20260628111848

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष खतिवडाले आर्थिक वर्ष २०८२/८३ का लागि सेरेना मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत रु. ४ लाख बजेट विनियोजन गरिएको भए पनि बजेट कटौतीका कारण यसपटक सीमित कृषकलाई मात्र समेट्न सकिएको बताउनुभयो। उहाँले सेरेना मौरी पर्यावरणीय सन्तुलन कायम राख्न अत्यन्त महत्वपूर्ण भएकाले यसको संरक्षण र पालनलाई प्रत्येक किसानले प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यसबाट किसानको आयआर्जनसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो।

IMG-20260628-WA0016

विशिष्ट अतिथि अनिल वाग्लेले बुद्धशान्तिलाई मौरी तथा मौरीजन्य उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो। उहाँले स्थानीय रूपमा उत्पादित शुद्ध महको ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सहजीकरण गर्न आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै किसानहरूले प्राप्त आर्थिक तथा प्राविधिक सहयोगको प्रभावकारी सदुपयोग गर्नुपर्ने र आपसमा सीप तथा अनुभव आदानप्रदान गर्दै व्यावसायिक मौरीपालनलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

IMG-20260628-WA0056

कार्यक्रममा स्थानीय अगुवा मौरीपालक कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी कृषकहरूले स्थानीय सरकारले सेरेना मौरी संरक्षण, पर्यावरण संरक्षण तथा मौरी र मौरीजन्य उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

IMG-20260628-WA0035 2

स्थानीय जातको सेरेना मौरी संरक्षणसँगै आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि, शुद्ध महको ब्राण्डिङ र किसानको आयआर्जन बढाउने लक्ष्यसहित गाउँपालिकाले थालेको यो पहललाई कृषकहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।