वीरता जेसिसको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बिर्तामोड नगरपालिका–९ मा उत्साह, उमङ्ग र कृषिप्रतिको सम्मानका साथ भव्य रूपमा सम्पन्न भएको छ।
कृषि संस्कृतिको संरक्षण, श्रमको सम्मान, खाद्य आत्मनिर्भरता र युवालाई कृषिप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संविधानसभाका सदस्य माननीय सुधिर कुमार सेवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। वीरता जेसिस वर्ष २०२६ का अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी प्रभात मास्केले गर्नुभएको थियो।
उहाँले स्वागत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय धान दिवसको महत्व, कृषिको वर्तमान अवस्था तथा कृषि उत्पादन बढाउन सबैको साझा दायित्वबारे प्रकाश पार्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा बिर्तामोड नगरपालिका–९ का वडा अध्यक्ष हरि प्रसाद चौलागाईं, नेपाल जेसिसका पूर्व राष्ट्रिय उपाध्यक्ष सेनेटर घनश्याम चौधरी, वीरता जेसिसका पूर्व अध्यक्ष तथा नेपाल जेसिस राष्ट्रिय महाधिवेशन निर्देशक जेसी राजकुमार पोखरेल, वीरता जेसिसद्वारा आयोजित धान दिवसका परिकल्पनाकार पूर्व अध्यक्ष जेसी विकास बस्नेत, पूर्व अध्यक्ष जेसी प्रविण खड्का, पूर्व अध्यक्ष जेसी सजेश शिवाकोटी, वितरण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री मेघराज बास्तोला, छठ समाज सेवा समितिका कार्यवाहक अध्यक्ष मनोज रौनियार, तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष संजय चौधरी रहनुभएको थियो। साथै बिर्तामोड कृषि केन्द्रका प्रतिनिधिहरू, सुभङ्गे टोल विकास समितिका पदाधिकारी, विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, कृषक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि माननीय सुधिर कुमार सेवाकोटीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै कृषिमा आधुनिक प्रविधिको प्रयोग, युवाको सहभागिता र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत मुलुकलाई खाद्य आत्मनिर्भर बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले राष्ट्रिय धान दिवस केवल औपचारिक कार्यक्रम नभई कृषकको श्रमप्रतिको सम्मान र कृषि संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण अभियान भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सबैले परम्परागत शैलीमा सामूहिक रूपमा धान रोपाइँ गर्दै कृषिप्रतिको सम्मान व्यक्त गरेका थिए। रोपाइँसँगै स्थानीय संस्कृति झल्काउने गतिविधि तथा कृषकसँग प्रत्यक्ष सहकार्यले कार्यक्रमलाई अझ जीवन्त र उत्साहपूर्ण बनाएको थियो।
वीरता जेसिसले सुरु गरेको रोपाइँ महोत्सव अभियान पहिलो पटक सन् २०२४ मा बिर्तामोड नगरपालिका–३ बाट प्रारम्भ गरिएको थियो। त्यसयता प्रत्येक वर्ष फरक–फरक वडामा पुगेर धान दिवस मनाउने अवधारणाअनुसार यस वर्ष बिर्तामोड–९ मा कार्यक्रम आयोजना गरिएको हो।
यस अभियानको उद्देश्य बिर्तामोडका सबै वडामा पुगेर कृषिप्रति जनचेतना अभिवृद्धि गर्ने, कृषकलाई सम्मान गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा युवा पुस्तालाई कृषिसँग जोड्ने रहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन गरमकाली कृषक समूहले विशेष सहयोग गरेको थियो। आयोजक वीरता जेसिसले समूहप्रति हार्दिक आभार व्यक्त गर्दै स्थानीय कृषक र समुदायको सक्रिय सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन मद्दत पुगेको जनाएको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले राष्ट्रिय धान दिवसलाई केवल औपचारिकतामा सीमित नराखी कृषकको सम्मान, कृषि संस्कृतिको संरक्षण, वातावरणीय सन्तुलन तथा खाद्य सुरक्षासँग जोडिएको अभियानका रूपमा निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी वर्षहरूमा पनि बिर्तामोडका अन्य वडाहरूमा समेत यस कार्यक्रमलाई विस्तार गर्दै कृषिप्रतिको सकारात्मक सन्देश समाजका हरेक तहसम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो।














