बिर्तामोड, असार १५ — झापाको बिर्तामोड–१ स्थित देवीपञ्चकन्या टोलमा धर्म, संगीत, कला र संस्कृतिलाई एकै स्थानमा जोड्ने उद्देश्यका साथ स्थापना गरिएको देवीपञ्चकन्या डान्स पार्क आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ।
शाखा सरगम संगीतालयको पहलमा स्थापना गरिएको डान्स पार्कको उद्घाटनसँगै असार १५ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको थियो।
संगीतालयका सञ्चालक तथा नृत्य निर्देशक दिलकुमार लिम्बुले धर्म, कला, संस्कृति र आध्यात्मिक चेतनालाई एकसाथ अघि बढाउँदै बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पार्क स्थापना गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार यस स्थानले भावी पुस्तालाई कलाप्रति आकर्षित गर्नुका साथै आध्यात्मिक चिन्तनतर्फ पनि प्रेरित गर्नेछ।
उद्घाटनकै अवसरमा पार्क परिसरमा शिवलिङ्ग स्थापना गर्नुका साथै स्वामीका तीनवटा बिरुवा समेत रोपिएको थियो। यसले धार्मिक तथा वातावरणीय सन्देशलाई समेत आत्मसात गरेको आयोजकले जनाएको छ।
यसै अवसरमा शाखा सरगम संगीतालयद्वारा आयोजित असार १५ विशेष नृत्य प्रतियोगितामा संगीतालयमा प्रशिक्षण लिइरहेका ४१ जना छात्र–छात्राले सहभागिता जनाएका थिए। प्रतियोगितामा शिक्षा पौडेल प्रथम, मानसी सापकोटा द्वितीय, आदिम लिम्बु तृतीय तथा आशुतोष भट्टराई र नम्रता रिजाल सान्त्वना हुन सफल भए।
प्रतियोगिताका पुरस्कारहरू विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा प्रदान गरिएको थियो। प्रथम पुरस्कारका लागि राजन दाहालले नगद रु. ५,००० प्रायोजन गर्नुभएको थियो भने द्वितीय पुरस्कार सन्दीप पौडेल, तृतीय पुरस्कार राजकुमार भट्टराई तथा सान्त्वना पुरस्कार सन्ध्या किड्स सप, बिर्तामोडले प्रायोजन गरेका थिए।
संगीतालयका सञ्चालक दिलकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवीपञ्चकन्या भजन–कीर्तन मण्डलीका प्रतिनिधि हेमराज कडेरिया, मोफसल अनलाइनका सम्पादक भरत प्रसाईं, पञ्चकन्या टोल विकास समितिका उपाध्यक्ष भीमा अधिकारी, सम्झौता चिया उद्योगका प्रतिनिधि राजन क्षेत्री, झापा नाटकघरका सञ्चालक तथा कलाकार राजकुमार भट्टराई लगायत स्थानीय अभिभावक, समाजसेवी तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कृषकहरूको पर्व असार १५लाई विशेष रूपमा मनाउँदै उपस्थित अतिथि तथा स्थानीयवासीलाई दही, चिउरा, आँप लगायतका परिकारसहितको सामूहिक भोजन गराइएको थियो।
यस अवसरमा सहभागीहरूबीच आपसी सद्भाव, सांस्कृतिक एकता र सामाजिक सम्बन्ध थप सुदृढ बनाउने वातावरण सिर्जना भएको थियो।
शाखा सरगम संगीतालयले विगतदेखि नै नृत्य तथा गायन प्रशिक्षण प्रदान गर्दै प्रतिभाशाली कलाकार उत्पादनमा योगदान पुर्याउँदै आएको छ। नवस्थापित देवीपञ्चकन्या डान्स पार्कले आगामी दिनमा बालबालिका तथा युवाहरूको कला विकास, सांस्कृतिक संरक्षण र आध्यात्मिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापनमा संगीतालयका सञ्चालक दिलकुमार लिम्बुले शिवलिङ्ग निर्माणमा सहयोग गर्ने दाताहरू, चामल मिल तथा गोदाम–६ का प्रतिनिधिहरू, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, स्थानीय सहयोगी, अभिभावक, अतिथि तथा सहभागीहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले आगामी दिनमा पनि धर्म, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।














