झापा। अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा हुने भुक्तानी तथा प्रशासनिक कामलाई सहज बनाउन सार्वजनिक बिदाको दिनसमेत सेवा प्रवाह गर्ने भएको छ।
नगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार असार २० गते शनिबार र असार २१ गते आइतबार सार्वजनिक बिदा भए पनि नगर कार्यपालिकाको कार्यालयका प्रमुख शाखाहरू खुला रहनेछन्। यो निर्णय आर्थिक वर्षको अन्तिम समयमा भुक्तानीसम्बन्धी कार्यमा चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै गरिएको हो।
सूचनाअनुसार आर्थिक प्रशासन (लेखा) शाखा, योजना शाखा, पूर्वाधार विकास (प्राविधिक) शाखा तथा सामान्य प्रशासन शाखाअन्तर्गत जिन्सी, दर्ता, चलानी र इकाइ सेवा नियमित रूपमा सञ्चालन हुनेछन्।
नगरपालिकाले सेवाग्राहीलाई आवश्यक कामका लागि तोकिएका दिनमा कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। उक्त सूचना प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेद्वारा जारी गरिएको हो।
आर्थिक वर्षको अन्त्यसँगै स्थानीय तहहरूमा भुक्तानी, योजना फर्छ्योट तथा प्रशासनिक कामको चाप बढ्ने भएकाले अर्जुनधारा नगरपालिकाले बिदाको दिनसमेत सेवा सञ्चालन गर्ने निर्णयलाई सेवाग्राहीमैत्री कदमका रूपमा हेरिएको छ।














