बिर्तामोड, झापा। बिर्तामोड नगरपालिका–३ स्थित शिवम् मिष्ठान भण्डारमा स्थानीय जनप्रतिनिधिहरूले संयुक्त रूपमा अनुगमन गरेका छन्।

अनुगमनमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–७ का वडा अध्यक्ष कृष्ण अविरल खरेल तथा वडा नम्बर ३ का जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्री गुणस्तरीय तथा स्वास्थ्य मापदण्डअनुसार उत्पादन र बिक्री भइरहेको छ वा छैन भन्ने विषयको परीक्षण गर्न अनुगमन गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए।

अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएको लड्डुभित्र सिँका भेटिएको जनाइएको छ। उक्त विषयलाई गम्भीर रूपमा लिँदै उपप्रमुख संग्रौलाले पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएका छन्।

उनले भविष्यमा यस्ता लापरवाही दोहोरिए कडा कारबाहीका लागि सिफारिस गरिने चेतावनी दिँदै कुनै पनि व्यवसायीले उपभोक्ताको स्वास्थ्य र जीवनसँग खेलवाड गर्न नहुने बताए।

नगरपालिकाले उपभोक्ताको हित संरक्षण तथा सुरक्षित खाद्य सामग्रीको सुनिश्चितताका लागि यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।