झापा । बाह्रदशी गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनबाट खसेर ज्यान गुमाएका कामदार टंक थापाको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने भएको छ।
दुर्घटनापछि पीडित पक्ष र सम्बन्धित निकायबीच भएको छलफलमा ठेकेदार पक्षले उक्त रकम उपलब्ध गराउने सहमति जनाएको हो। आज बाह्रदशी गाउँपालिकाको सभाहलमा भएको छलफलपछि मृतकका परिवारलाई राहतस्वरूप २० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको हो। यससँगै गाउँपालिकाले काजकिरिया खर्चबापत थप २ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा हिजो बिहान बाह्रदशी गाउँपालिका–४ चकचकीस्थित निर्माणाधीन गाउँपालिका भवनमा रङ लगाउने क्रममा माथिल्लो तलाबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको थियो।

742077439_27345407291775399_3454750047329344237_n
घटनापछि क्षतिपूर्ति र राहतको माग गर्दै मृतकका परिवार तथा स्थानीय जनप्रतिनिधिको टोली आज बाह्रदशी गाउँपालिका पुगेको थियो। टोलीमा मृतककी पत्नी रमा थापा, छोरा अमित थापा, सुन्दरहरैँचा नगरपालिका–४ का वडाध्यक्ष कैलाश बस्नेत, नवीन दाहाल, नागरिक समाजका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नं। ४ का अध्यक्ष लक्ष्मीप्रसाद घिमिरेसहित करिब २५ जना सहभागी थिए।
गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लागाई, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, प्रहरी प्रशासनका प्रतिनिधि तथा दुवै पक्षका करिब ५० जनाको उपस्थितिमा भएको छलफलपछि राहत तथा क्षतिपूर्तिसम्बन्धी सहमति जुटेको हो। दुर्घटनापछि निर्माणस्थलको सुरक्षा व्यवस्था, कामदारको बीमा तथा श्रम सुरक्षा मापदण्डको कार्यान्वयनबारे समेत चासो व्यक्त गरिएको सहभागीहरूले बताएका छन्।