बिर्तामोड, झापा । बिर्तामोड नगरपालिका–१ स्थित सिरीजङ्गा नचानु विष्णु चौतारा टोल विकास समितिको चौथो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
साधारण सभाले तिलकनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नानु कडरिया, सचिवमा भरत प्रसाई, कोषाध्यक्षमा जयन्ती खनाल तथा सदस्यहरूमा मिरा ढकाल, अम्बिका सुब्बा, गणेश गौतम, धनमाया भट्टराई र ममता बिमली चयन भएका छन्।

बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षता रहेको थियो।
कार्यक्रममा अध्यक्ष मास्केले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा समितिले सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउनुभयो।
उहाँले समुन्नत र व्यवस्थित टोल निर्माणका लागि स्थानीयवासी स्वयं जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको उद्घाटन टोलका ज्येष्ठ नागरिक कमलबहादुर राउतले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
शाखा सरगम संगीतालयका प्रतिभाशाली कलाकार हर्षिका गौतम ,आदिमा लिम्बु युन्छुमा लिम्बू ऋषिमा दाहाल, अनुष्का खरेल ,मान्सी सापकोटा, अनमिन लुइँटेल लगायतको सांगितिक प्रस्तुतीले कार्यक्रममा रौनकता थपेको थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेले स्थानीय सरकारको विकास अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न टोल विकास समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
उहाँले विकास निर्माणमा जनसहभागिता र अपनत्व बढाउन टोल विकास समिति अपरिहार्य माध्यम भएको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले बिर्तामोड–१ भित्र रहेका टोलहरूमध्ये सिरीजङ्गा नचानु विष्णु चौतारा टोल विकास उत्कृष्ट टोलका रूपमा स्थापित भएको उल्लेख गर्दै आगामी दिनमा पनि सुशासन, विकास र सामाजिक एकतामार्फत वडाकै नमुना टोल बन्ने विश्वास व्यक्त गर्नुभयो।
फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन वडा अध्यक्ष पाण्डेले स्थानीयवासीलाई आजैदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो।

फोहोरको वर्गीकरण नहुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको उल्लेख गर्दै यस अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य योगचन्द्र आङबुहाङको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन परिचालन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। समितिको सदस्य सचिवमा नरेन्द्र राउत तथा सदस्यमा उमादेवी खनाल रहनुभएको थियो।

नवनिर्वाचित अध्यक्ष तिलकनारायण श्रेष्ठले टोलमा देखिएका विकृति, विसंगति तथा बेथितिविरुद्ध नयाँ कार्यसमिति दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विकास, सुशासन, सामाजिक न्याय र सामाजिक सद्भावलाई प्राथमिकतामा राखी वडाले निर्धारण गरेका नीति, नियम तथा अधिकार क्षेत्रभित्र रहेर संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने बताउनुभयो।
कार्यक्रममा देवी पञ्चकन्या टोल विकास समितिका अध्यक्ष टिका संग्रौलाले स्थानीय सरकार र वडाको सहयोगकै कारण टोल विकास समितिहरू प्रभावकारी बन्दै गएको उल्लेख गर्दै एक टोलले अर्को टोलसँग सहकार्य र अनुभव आदानप्रदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
स्थानीयवासीहरूले पनि टोलका विभिन्न समस्या, चुनौती तथा दीर्घकालीन समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य समितिकी उपाध्यक्ष सावित्रा अधिकारीले राख्नुभएको थियो।
उहाँले नयाँ कार्यसमितिले नयाँ सोच, ऊर्जा र प्रतिबद्धतासहित टोलको समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन सचिव हिरानन्द थपलियाले गर्नुभएको थियो।
कार्यक्रममा वडा सदस्य जानुका देवी बस्नेत, योगचन्द्र आङबुहाङ, पञ्चकन्या सोसाइटी प्रगति टोलका अध्यक्ष राजन दाहाल, सामाजिक व्यक्तित्व किशोर तिम्सिना, देवी पञ्चकन्या टोल विकास समितिका अध्यक्ष टिका संग्रौला, झापा नाटकघरका सञ्चालक तथा नाट्यकर्मी राजकुमार भट्टराई, समाजसेवी कमलबहादुर राउत, जगनध्वज बनेम, निवर्तमान अध्यक्ष झलकसिंह राजवंशी, वडा सदस्य कमला मोहरा, कोषाध्यक्ष कमलसरी राजवंशी, ज्येष्ठ आमा पवित्रा प्रसाई लगायत टोल विकास समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा उल्लेख्य संख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।














