बुद्धशान्ति ।भरत प्रसाई, झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई प्राकृतिक सुन्दरताले भरिपूर्ण, हरियालीले सजिएको र आध्यात्मिक ऊर्जाले ओतप्रोत एक आकर्षक स्थल हो। शान्त वातावरण, स्वच्छ प्रकृति र आध्यात्मिक अनुभूतिको खोजीमा रहने जो–कोहीका लागि टिमाई पुग्नु आफैँमा एउटा अविस्मरणीय अनुभव बन्न सक्छ।
यही रमणीय स्थानमा अवस्थित पाल्युल देछेल छोइलिङ्ग बौद्ध गुम्बा पछिल्ला वर्षहरूमा बौद्ध धर्मावलम्बी तथा साधनामा रुचि राख्नेहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
पूर्वी नेपालका विभिन्न जिल्लादेखि देशका अन्य भूभागसम्मबाट श्रद्धालु, लामा तथा साधकहरू यहाँ ध्यान, साधना र आध्यात्मिक अभ्यासका लागि नियमित रूपमा आउने गरेका छन्।
करिब एक बिघा तीन कठ्ठा क्षेत्रफलमा फैलिएको यो गुम्बा केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, नेपाली समाजको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकताको जीवन्त प्रतीक पनि बनेको छ।
धर्म, संस्कृति र परम्परा फरक–फरक भए पनि पारस्परिक सम्मान, सहअस्तित्व र सामाजिक एकतामै समाजको सुन्दरता रहेको सन्देश यस गुम्बाले प्रवाह गरिरहेको छ।
यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले गुम्बाको उत्तरतर्फ बौद्ध पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ। बुद्धशान्ति गाउँपालिकाका अनुसार पार्क निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ। यसले टिमाईलाई धार्मिक तथा प्राकृतिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
गुम्बाका सञ्चालक लामा नर्भी तामाङका अनुसार गुम्बामा स्थायी रूपमा धेरै लामा नबस्ने भए पनि बिहान र साँझ गरी दैनिक करिब १० देखि १२ जना साधक तथा लामा साधना र पूजाआजामा सहभागी हुने गरेका छन्।
उहाँका अनुसार बौद्ध दर्शनमा हजारौँ बुद्धको स्मरण र साधना गरिन्छ। कुनै बुद्धले दीर्घायुको आशीर्वाद प्रदान गर्ने, कुनैले विघ्नबाधा हटाउने तथा कुनैले शरीर, मन र वचनबाट भएका पाप कर्म शुद्ध गर्ने विश्वास रहेको छ।
त्यसैले प्रत्येक व्यक्तिले बुद्धत्वको मार्गमा अग्रसर हुँदै आत्मशुद्धि, करुणा, मैत्री र सदाचारको अभ्यास गर्न आवश्यक रहेको उहाँको भनाइ छ।
प्रकृतिको काखमा अवस्थित टिमाईको पाल्युल देछेल छोइलिङ्ग गुम्बा धार्मिक आस्थाको केन्द्र मात्र होइन, मानसिक शान्ति, आत्मिक ऊर्जा र सामाजिक सद्भावको अनुपम गन्तव्य पनि हो। यहाँ पुग्ने जो–कोहीले केवल गुम्बाको दर्शन मात्र गर्दैनन्, बरु शान्त वातावरणसँगै जीवनलाई सकारात्मक दिशामा डोर्याउने आध्यात्मिक अनुभूति पनि साथमा लिएर फर्कन्छन्।
धार्मिक पर्यटनको नयाँ सम्भावना बोकेको यो क्षेत्र आगामी दिनमा झापाको एक महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा अझ सशक्त रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।














