बिर्तामोड, साउन ११। झापाको बिर्तामोड–१ स्थित सिरीजङ्गा नचान विष्णु चौतारा टोल विकास समितिले धर्म, संस्कृति र सामुदायिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विशेष शिव अनुष्ठान तथा भजन–कीर्तन कार्यक्रम सम्पन्न गरेको छ।

समितिका अध्यक्ष तिलक नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड–१ का वडा सदस्य योगचन्द्र आङबुहाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको प्रारम्भमा समितिका सदस्य गणेश गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा समिताका निवर्तमान पदाधिकारीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनोस्वरूप तस्बिर प्रदान गरी सम्मान गरिएको थियो।

04

 जनहितमा जारी

सम्मानित हुनेहरूमा निवर्तमान अध्यक्ष भोजकुमार मास्के, उपाध्यक्ष सावित्रा अधिकारी, सचिव हिरानन्द थपलिया, कोषाध्यक्ष कमलसरी राजवंशी तथा सदस्यहरू उमा घिमिरे, सीमा थपलिया र नरेन्द्र राउत रहनुभएको थियो। प्रमुख अतिथि आङबुहाङले सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रमलाई अझ आकर्षक बनाउन शाखा सर्गम संगीतालयका बालकलाकारहरूले भगवान् कृष्ण र भगवान् शिवसम्बन्धी भजन तथा नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी पाथिभरा भजन–कीर्तन मण्डलीले प्रस्तुत गरेका विभिन्न भक्तिमय भजनहरूले धार्मिक वातावरणलाई थप उल्लासमय बनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि योगचन्द्र आङबुहाङले समाजलाई एकताबद्ध बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता धार्मिक तथा सामाजिक कार्यक्रम प्रभावकारी र प्रेरणादायी हुने बताउनुभयो। उहाँले सबैको साथ, सहयोग र समर्थनबाट मात्रै सामाजिक सद्भाव र एकता बलियो बन्ने उल्लेख गर्नुभयो।

उहाँले बिर्तामोड–१ भित्र रहेका ३६ वटा टोल विकास समितिमध्ये सिरीजङ्गा नचान विष्णु चौतारा टोल विकास समितिलाई उत्कृष्ट बनाउने दिशामा यस्ता रचनात्मक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गर्नुभयो। नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छोटो अवधिमै दुईवटा उल्लेखनीय कार्यक्रम सम्पन्न गर्नु सक्रिय नेतृत्वको परिचायक भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

सोही अवसरमा प्रमुख अतिथि आङबुहाङले पाथिभरा भजन–कीर्तन मण्डलीका सम्पूर्ण सदस्यलाई रुद्राक्षको माला लगाइदिँदै धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।

c98cbdc7-f686-4da5-a799-39949d32bb7dसम्मानितहरूको तर्फबाट मन्तव्य राख्दै निवर्तमान सचिव हिरानन्द थपलियाले नयाँ कार्यसमितिको सक्रियताको प्रशंसा गर्नुभयो। विशेषगरी सचिव भरत प्रसाईंको नेतृत्वदायी भूमिका उल्लेखनीय रहेको भन्दै कार्यसमितिले टोलको विकास र सामाजिक हितका क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी संस्थाका सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष भोजकुमार मास्केले आफ्नो कार्यसमितिको योगदानको कदर गर्दै नयाँ कार्यसमितिले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पुरानो र नयाँ नेतृत्वबीचको सहकार्यले संस्थालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष नानु कडरिया, कोषाध्यक्ष जयन्ती खनाल, सदस्यहरू मिरा ढकाल, अम्बिका शाह, गणेश गौतम, घनश्याम भट्टराई, ममता बिमलीलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। साथै विशिष्ट अतिथिहरू झलकसिंह राजवंशी, पवित्र प्रसाईं, राजेन्द्र फोम्बो, भिजन दाहाल, पाथिभरा भजन–कीर्तन मण्डलीका सहसचिव मदन पाठक, स्थानीय अभिभावक तथा टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन समितिका सचिव भरत प्रसाईंले गर्नुभएको थियो।