झापा, हल्दीबारी। झापा जिल्लाको हल्दीबारी गाउँपालिका–५ मा रहेको धनुषपोखरी स्थानीय धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको स्थल हो। यही स्थानको छेउमै हल्दीबारी गाउँपालिकाको  तथा  कार्यपालिकाको कार्यालय पनि रहेको छ, जसले यसको प्रशासनिक महत्वसमेत बढाएको छ।

स्थानीय जनविश्वासअनुसार धनुषपोखरीको इतिहास महाभारतकालसँग जोडिन्छ। किंवदन्तीमा पाण्डव र कौरवकालीन घटनासँग सम्बन्धित विभिन्न कथाहरू सुनाइन्छन्।

यद्यपि यी कथाको ऐतिहासिक तथा पुरातात्त्विक प्रमाण भने स्पष्ट रूपमा पुष्टि भइसकेको छैन। हल्दीबारी, केचनाकवल र आसपासका क्षेत्रलाई महाभारतकालीन सभ्यतासँग जोडेर हेर्ने परम्परा लामो समयदेखि रहँदै आएको छ।

धनुषपोखरी प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र भए पनि यसको प्रचार–प्रसार, संरक्षण र पर्यटन पूर्वाधार अझै अपेक्षाकृत कमजोर देखिन्छ।

 जनहितमा जारी

उचित व्यवस्थापन, अध्ययन र प्रवर्द्धन गर्न सके यो स्थल झापाकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।

हल्दीबारी गाउँपालिका कृषि र पर्यटनलाई विकासको आधार मानेर अघि बढिरहेको छ। गाउँपालिकाले धनुषपोखरीलाई आफ्नो ऐतिहासिक पहिचानका रूपमा समेत उल्लेख गरेको छ।

तर यसको वास्तविक इतिहास, पुरातात्त्विक महत्व र संरक्षण अवस्थाबारे विस्तृत अनुसन्धान भने आवश्यक देखिन्छ।

धार्मिक आस्थासँगै पर्यटकीय सम्भावना बोकेको धनुषपोखरी आज पनि धेरैका लागि रहस्यमय स्थल बनेको छ।

इतिहास, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न स्थानीय तह, पुरातत्त्वविद् र सरोकारवालाहरूले संयुक्त पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।