झापा। झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडमा बिहीबार बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आज बिहान करिब ४ः१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्टका कारण आगलागी भएको बुझिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा १० जना प्रहरी तथा शनिश्चरे बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक सोबित श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो। बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो बिहान ५ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगलागीमा गणेश पोखरेलको टिनको छानो भएको काठको दुईतले घर, तारा आर्यालको एकतले घर र सुन्दर राजवंशीको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
यस्तै, भरत पोखरेलको एकतले घरमा आंशिक क्षति पुगेको छ भने शारदा राजवंशीको दुईतले पक्की घरमा पनि आंशिक क्षति पुगेको छ। दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।














