बिर्तामोड, साउन १५ । झापाको बिर्तामोड–३ मा स्थापना गरिएको 'हाम्रो साझा महिला आवाज' नामक संस्था जिल्ला प्रशासन कार्यालय, झापामा विधिवत् दर्ता भएको छ। संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालयले २०८३ साउन १४ गते संस्थालाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेको हो। प्रस्तुत गरिएको प्रमाणपत्रमा दर्ता नम्बर ३६४२ उल्लेख छ।
नवगठित संस्थाले महिला उत्थान, महिला सशक्तीकरण, लैङ्गिक समानता, महिला हक–अधिकारको संरक्षण तथा सामाजिक चेतनामूलक अभियान सञ्चालन गर्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको जनाएको छ।
संस्थाले महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, आत्मनिर्भरता, हिंसाविरुद्ध सचेतना, सामाजिक न्याय तथा समुदायस्तरमा महिला सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको संस्थाको भनाइ छ।
संस्थाले सामाजिक सेवामा रुचि राख्ने महिला तथा पुरुष, युवा, बुद्धिजीवी, समाजसेवी र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई संस्थासँग आबद्ध भई सामाजिक अभियानमा सहभागी हुन सार्वजनिक आह्वानसमेत गरेको छ।
संस्थाले आफ्नो मूल नाराका रूपमा "महिलाका लागि महिला अनि मात्र हामी पहिला" भन्ने सन्देशलाई अघि सारेको छ। महिला अधिकारको संरक्षण, सशक्तीकरण र समतामूलक समाज निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।














