टोकियो। जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । यस्तै, ९ हजार २ सयभन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् ।

कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

प्रिफेक्चरभित्र अनुरोधका आधारमा सञ्चालन गरिएका अधिकांश खोज तथा उद्धार कार्य सम्पन्न भइसकेका छन् । यद्यपि, करिब २३० जना प्रहरी अधिकारीको टोलीले प्रभावित क्षेत्रमा छुटेका वा फसेका व्यक्तिको खोजी जारी राखेको छ ।

 जनहितमा जारी

भूकम्पका कारण आवासीय संरचनामा ठूलो क्षति पुगेको छ । अधिकारीका अनुसार १८२ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २० घरमा गम्भीर, २२५ घरमा आंशिक र एक हजार ३४ घरमा सामान्य क्षति पुगेको छ । थप ८२ भवनमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । हालसम्म प्रभावित घरको सङ्ख्या एक हजार ५४३ पुगेको छ ।

प्रिफेक्चरभरि २२९ वटा आश्रयस्थल सञ्चालनमा रहेका छन्, जहाँ नौ हजार २२८ जना विस्थापितले आश्रय लिइरहेका छन् ।

पूर्वाधारमा पुगेको क्षतिका कारण करिब छ हजार घरपरिवार अझै विद्युत् सेवाबाट वञ्चित छन् भने खानेपानी अभावबाट करिब ७२ हजार घरपरिवार प्रभावित भएका छन् ।

शुक्रबार हाकाता–कुमामोतोबीचको ‘क्युशु शिन्कान्सेन’ बुलेट ट्रेन सेवा पुनः सञ्चालनमा आएको भए पनि कुमामोतो र सिन–मिनामाताबीचको सेवा अगस्ट महिनाभित्र पुनः सञ्चालन गर्न कठिन हुने अधिकारीले बताएका छन् ।

यसैबीच, जापानको मौसम विज्ञान एजेन्सीले कुमामोतो क्षेत्रमा अत्यधिक गर्मी जारी रहने चेतावनी दिएको छ । सोमबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

कुमामोतोका गभर्नर ताकाशी किमुराले गर्मीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै आश्रयस्थलमा थप पोर्टेबल वातानुकूलन उपकरण जडान गर्ने तथा विस्थापितलाई वातानुकूलित सुविधा भएका स्थानमा सार्ने योजना रहेको बताए ।

मङ्गलबार स्थानीय समयअनुसार अपरान्ह ४ः२७ बजे दक्षिण–पश्चिम जापानको कुमामोतो क्षेत्रमा ७ दशमलप १ म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको भूकम्पीय तीव्रता मापन प्रणालीमा यसको अधिकतमस्तर सात पुगेको थियो, जसमा मानिसलाई उभिन वा सुरक्षित रूपमा हिँड्नसमेत कठिन हुने अवस्था हुन्छ ।