काठमाडौँ ।
सुनसरीको देवानगञ्जबाट सुरु भई मधेशका विभिन्न जिल्लासम्म फैलिएको जातीय तथा साम्प्रदायिक तनाव साम्य भएसँगै पूर्वी तराईको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन थालेको छ।
गएको आइतबार राति देवानगञ्जमा दुई पक्षबीच भएको तीव्र झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो। उक्त घटनाको विरोधमा सुरु भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा इनरुवा, भोक्राह नरसिंह, हरिनगर र कोशी गाउँपालिकालगायत सुनसरीका ९ भन्दा बढी पालिकाहरूमा आगजनी, तोडफोड र तोडफोडका घटना घटेका थिए।
स्थिति नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासनले लगातार कर्फ्यु आदेश जारी गरेको थियो। प्रदर्शनको आगो मधेश प्रदेशका अन्य जिल्लाहरूमा समेत फैलिँदा सिरहाको गोलबजारमा भएको दोहोरो झडपमा प्रहरीको गोली लागेर गणेश यादवको समेत ज्यान गएपछि तनाव झनै उत्कर्षमा पुगेको थियो।
विवाद बढ्दै गएपछि गृहमन्त्री सुधन गुरुङ आफैँ पीडित क्षेत्र पुगेर पीडित परिवार तथा आन्दोलनरत पक्षसँग बहुपक्षीय सहमति गरेपछि मात्रै आन्दोलनका कार्यक्रम फिर्ता भएका हुन्। सहमतिपश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु पूर्ण रूपमा हटाएको छ।
कर्फ्यु हटेसँगै आइतबार बिहानैदेखि सुनसरी र सिरहाका मुख्य बजार, व्यावसायिक प्रतिष्ठान तथा यातायात सञ्चालनमा आएका छन्। विशेष गरी मुख्य राजमार्ग तथा सीमावर्ती क्षेत्रमा लामो तथा छोटो दूरीका सवारी साधनहरू निर्बाध रूपमा चल्न थालेका छन्। यद्यपि, लामो समयको अशान्ति र हिंसात्मक घटनाका कारण स्थानीय बासिन्दामाझ अझै पनि त्रासको वातावरण पूर्ण रूपमा हट्न सकेको छैन।
यसैबीच, छिमेकी जिल्ला सप्तरीमा पनि सुरक्षा अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा मात्र जारी राख्ने निर्णय गरेको छ।
अप्रिय घटना दोहोरिन नदिन सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी निगरानी कडा पारिएको सुरक्षा निकायले जनाएको छ।














