काठमाडौँ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति दुई पक्षबीच भएको हिंसात्मक झडप र स्थिति नियन्त्रण बाहिर गएपछि सरकारले जिल्लाको प्रशासनिक तथा सुरक्षा कमाण्ड एकाएक हेरफेर गरेको छ। स्थिति सम्हाल्न नसकेको भन्दै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित प्रदेश र जिल्लास्तरका शीर्ष सुरक्षा अधिकारीहरूलाई तानेर नयाँ टोली खटाएको हो।
मन्त्रालयको निर्णयअनुसार सुनसरीका सीडीओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाइ उहाँको ठाउँमा सङ्खुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, प्रदेशको समग्र सुरक्षा कमाण्ड हेर्ने कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर डीआईजी शेखर खनाललाई कोशी प्रदेश पठाउने निर्णय भएको छ।
जिल्ला तहमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका नेतृत्व हेरफेर गरिएको छ।
गएराति कप्तानगञ्जमा दुई समूहबीच भएको तीव्र झडपका क्रममा १ जनाको ज्यान जानुका साथै गोली लागेर ९ जना घाइते भएका थिए। घटनापछि उत्पन्न तनावलाई साम्य पार्न र शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका प्रभावित क्षेत्रहरूमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्युकै बीचमा पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि शान्ति सुरक्षा चुस्त बनाउन नेपाली सेना समेत परिचालन गरिएको छ। सुनसरीमा सुरु भएको यो अशान्तिको असर छिमेकी जिल्लाहरू सप्तरी, सिरहा र धनुषासम्म पर्न थालेपछि गृह मन्त्रालयले सुरक्षा सतर्कता उच्च बनाएको छ।














