बिर्तामोड । पब्लिक क्याम्पस प्राध्यापक संघ, इन्द्रचन्द्र क्याम्पस इकाइको चौथो अधिवेशनबाट दिनेश भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
क्याम्पस परिसरमा सम्पन्न चौथो अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरू जिम्मेवारी हस्तान्तरण गरेको छ।
नवनिर्वाचित कार्यसमितिको सचिवमा प्रकाश चन्द्र घिमिरे र कोषाध्यक्षमा ईश्वरी अधिकारी चयन हुनुभएको छ। यस्तै कार्यसमिति सदस्यहरूमा कृष्ण पौडेल, डिकेन्सन् पाण्डे, विमल पोर्तेल र खडानन्द ढकाल निर्वाचित हुनुभएको छ।
अधिवेशन कार्यक्रममा बोल्दै निवर्तमान नेतृत्वले वि.सं. २०८१ जेठ २५ गते सम्पन्न तेस्रो अधिवेशनबाट सुरु भएको कार्यकालको स्मरण गर्दै क्याम्पसको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए।

सो अवधिमा सचिव हुँदै २०८२ चैतदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेर चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण प्राध्यापकहरू, क्याम्पस प्रशासन, कर्मचारी तथा विद्यार्थीहरूप्रति आभार व्यक्त गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले जिम्मेवारी एउटा पद मात्र नभएर सिकाइ, अनुभव र सेवाको अवसर भएको उल्लेख गर्दै नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवनिर्वाचित टोलीले प्राध्यापकहरूको हकहित र क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।














