विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले झापाको हल्दीबारी गाउँपालिका–२ निवासी नवराज ओली (नितेश) ले पत्रकार र नेपाल पत्रकार महासंघका पदाधिकारीलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत निरन्तर तथ्यहीन, भ्रामक तथा कपोलकल्पित सामग्री प्रसारण गरी चरित्रहत्या गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले सोमबार विज्ञप्ति जारी गर्दै यसअघि पनि पत्रकारको परिचयको दुरुपयोग गर्दै उद्योगी–व्यवसायीसँग रकम मागेको विषयमा उजुरी परेपछि सम्बन्धित व्यक्तिलाई सचेत गराइएको उल्लेख गरेको छ।
त्यसपछि पनि मानमर्दन, दुर्व्यवहार तथा साइबर अपराधसम्बन्धी गतिविधि नरोकिएकाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दर्ता गरिएको र अदालतबाट पक्राउ पुर्जी जारी भइसके पनि हालसम्म पक्राउ नपर्नु गम्भीर विषय भएको महासंघको भनाइ छ।
महासंघले पत्रकारलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत गालीगलौज, अफवाह फैलाउने तथा ज्यानसमेत लिने धम्की दिने कार्यको कडा भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।














