बिर्तामोड, झापा । पूर्वी नेपालको उदीयमान शैक्षिक तथा प्रविधि हबका रूपमा स्थापित हुँदै गएको झापाको बिर्तामोडमा प्रविधि, नवप्रवर्तन र स्वास्थ्यलाई जोड्दै दुई ठूला राष्ट्रिय कार्यक्रम आयोजना हुने भएको छ। ह्वाइटहाउस एजुकेसन फाउण्डेसन अन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजीले बिर्तामोडमा ‘ह्वाइटहाउस रन फेस्ट-२०२६’ र राष्ट्रिय स्तरको ‘ह्याकाथन’ आयोजना गर्न लागेको हो।

काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी चार वर्षे ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआइटी) तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (इन्फर्मेसन टेक्नोलोजी) को अध्यापन सुरुआतको अवसर पारेर कलेजले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दुवै कार्यक्रमबारे औपचारिक जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै ह्वाइटहाउस एजुकेसन फाउण्डेसनका अध्यक्ष युवराज शर्माले विगत तीन दशकदेखि नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यावहारिक तथा विश्वस्तरीय शिक्षा प्रवाहमा योगदान दिँदै आएको बताए।

उनले काठमाडौँ बाहिर पूर्वी नेपालका विद्यार्थीलाई पनि डिग्रीसँगै सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता, कृत्रिम बुद्धिमत्ता (एआई) तथा विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने उद्देश्यका साथ बिर्तामोडमा कलेज सञ्चालनमा ल्याइएको स्पष्ट पारे।

 जनहितमा जारी

कलेजले स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यका साथ आउँदो शनिबार बिहान ५:३० बजे ‘ह्वाइटहाउस रन फेस्ट-२०२६’ आयोजना गर्दैछ। कार्यक्रमका संयोजक आयुष अग्रवालका अनुसार उक्त दौड प्रतियोगितामा बिर्तामोडबासी, विद्यार्थी, अभिभावक, युवा तथा खेलप्रेमीहरूको व्यापक सहभागिता रहनेछ।

त्यसैगरी, प्रविधि क्षेत्रमा युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न कलेज परिसरमा विगत तीन दिनदेखि राष्ट्रियस्तरको ‘ह्याकाथन’ सञ्चालन भइरहेको छ। कलेजका प्रिन्सिपल रञ्जित साहले देशभरका विभिन्न शिक्षण संस्थाबाट आएका १४० भन्दा बढी प्रविधिप्रेमी विद्यार्थीहरू प्रतिस्पर्धामा सहभागी भइरहेको र यसले नवप्रवर्तनको क्षेत्रमा नयाँ आयाम थप्ने बताए।

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूका लागि आकर्षक पुरस्कार र छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। आयोजकका अनुसार प्रतिस्पर्धामा प्रथम हुने टोलीलाई नगद ५० हजार रुपैयाँ र द्वितीय हुने टोलीलाई २० हजार रुपैयाँसहित ट्रफी, सम्मानपत्र र प्रमाणपत्र प्रदान गरिनेछ।

यसका साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने १० जना प्रतिभाशाली विद्यार्थीहरूलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीआइटी तथा ब्याचलर अफ टेक्नोलोजी इन एजुकेसन (आइटी) कार्यक्रममा छात्रवृत्तिसहित उच्च शिक्षा अध्ययन गर्ने विशेष अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

झापामा पहिलोपटक यस स्तरमा प्रविधि र स्वास्थ्यलाई जोडेर आयोजना गरिएको राष्ट्रिय कार्यक्रमले स्थानीय युवाहरूमा नयाँ ऊर्जा भर्नुका साथै प्राविधिक शिक्षा र नवप्रवर्तनको क्षेत्रमा ठूलो सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।