बिर्तामोड । साउन महिनाको अन्तिम सोमबार आज झापासहित देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ।

महिनाभरि सोमबारे व्रत बसेर भगवान् शिवको आराधना गर्दै आएका महिला तथा बोलबम तीर्थालुहरूले आज विधिपूर्वक व्रत समापन (उद्यापन) गरिरहेका छन्।

साउनका अघिल्ला सोमबार व्रत बस्न नपाएका श्रद्धालुहरूले पनि अन्तिम सोमबारका दिन व्रत बसेर पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ मन्दिरहरूमा घुइँचो लगाएका हुन्।

धार्मिक मान्यता अनुसार सोमबार भगवान् शिवको अति प्रिय वार मानिन्छ। यसपटक साउनको अन्तिम सोमबारको दिन त्रयोदशी तिथि परेकाले ‘सोमप्रदोष व्रत’ को विशेष योग बनेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।

 जनहितमा जारी

सूर्यास्तअघि र पछिको विशेष समयलाई प्रदोषकाल भनिन्छ, जुन शिव आराधनाका लागि उत्तम मानिन्छ। आज साँझ प्रदोषकालमा मन्दिरमा दीप प्रज्वलन गरी दूध, दही, घिउ, बेलपत्रका साथै पहेँलो वस्तु अर्पण गरेर पूजा गर्दा घरमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ।

पूर्वको पशुपतिनाथका रूपमा चर्चित झापाको अर्जुनधारा जलेश्वरधाममा आज बिहानैदेखि हजारौँ श्रद्धालुको उपस्थिति रहेको छ।

पवित्र कनकाई नदी तथा स्थानीय विभिन्न खोलानालाबाट जल ल्याएर बोलबम तीर्थालुहरूले भगवान् शिवलाई अर्पण गरिरहेका छन्।

अन्तिम सोमबारका अवसरमा धाम परिसरमा दर्शनार्थीको सहजताका लागि स्वयंसेवक परिचालन, सुरक्षा, खानेपानी तथा स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ।

यसैगरी काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, चितवनको देवघाट, र पोखराको विन्ध्यवासिनीलगायत देशभरका प्रसिद्ध शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ।