सुमन लेप्चा
नेपालमा आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एकातिर स्थानीय तहको पुनःसंरचना, सीमांकन र संख्या समायोजनका बहसहरू सतहमा आएका छन् भने अर्कोतिर विगतमा गरिएका कार्यावधिको निर्मम समीक्षा गर्ने समय आएको छ ।
पुनःसंरचनाको निर्णय जसरी अघि बढेता पनि एउटा तथ्य स्पष्ट छ कि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ७ मा अब विकासको पुरानै परम्परागत ढाँचामा अल्झिन सक्दैन ।
विगतको एक दशकमा यो वडाले भौतिक पूर्वाधार निर्माणमा राम्रो फड्को मारेको छ । आगामी पाँच वर्षको मुख्य राजनीतिक तथा चुनावी एजेन्डा गिटी, बालुवा र कंक्रिटको भौतिक विकास नभएर ‘आर्थिक समृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरता’ तर्फ उन्मुख हुनु पर्छ ।

बुद्धशान्ति गाउँपालिकाका ७ वटै वडाहरू मध्ये वडा नं. ७ क्षेत्रफल र जनसंख्या दुवै हिसाबले सबैभन्दा सानो वडा हो । वडाको तथ्यांक अनुसार यस वडाको क्षेत्रफल ३.९५ वर्ग किलोमिटर छ भने २५५६ जना यस वडाको जनसंख्या रहेको छ ।
सामान्यतया प्रशासनिक वा विकासका दृष्टिकोणले कम जनसंख्या हुनुलाई कमजोर उपस्थितिका रूपमा हेर्ने गरिन्छ तर आधुनिक योजनाबद्ध विकासको सिद्धान्त अनुसार सानो भूगोल र कम जनसंख्या हुनु भनेको सुशासन र लक्षित नतिजा हासिल गर्ने सबैभन्दा ठूलो अवसर हो ।
यस वडामा कम जनसंख्या भएको कारणले प्रत्येक घरधुरीको आर्थिक तथा सामाजिक अवस्थाको सूक्ष्म रूपमा अध्ययन गरी आवश्यकतामा आधारित योजना निर्माण गर्न सहज हुन्छ, बजेट तथा अनुदान लक्षित वर्गसम्म प्रत्यक्ष र शतप्रतिशत रूपमा पुर्याई स्रोत साधनको चुहावट न्यून गर्न सकिन्छ साथै विकास योजना तथा कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन र प्रतिफल मूल्याङ्कन ठूला वडाहरूको तुलनामा छिटो, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न सकिन्छ ।

यस वडामा विगतका वर्षहरूमा भौतिक पूर्वाधारतर्फ उल्लेखनीय काम भएको छ । सडक तथा स्थानीय पूर्वाधारसँगै धारागोला क्षेत्रमा धारागोला भ्यूटावरको पर्यटकीय संरचना, सुनमाई क्षेत्रमा जरेबर पर्यटकीय पार्क र टिमाई नदीमाथि करिब ४७६ मिटर लामो झोलुङ्गे पुल र हरित उद्यान पार्क निर्माण भएका छन् साथै सुनमाई क्षेत्रमा सामुदायिक स्वास्थ्य पूर्वाधार समेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
यसरी सीमित भौगोलिक दायरा भएकै कारण उपलब्ध बजेटलाई केन्द्रित रूपमा प्रयोग गरी सडक सञ्जाल, नाला, पर्यटकीय संरचना र सार्वजनिक भवन निर्माणमा उल्लेखनीय प्रगति भयो ।
अब हुने चुनावका बेला विकासको परिभाषालाई ‘फराकिलो सडक र ढल’ मा मात्रै सीमित राखियो भने त्यो दिगो विकास हुन सक्दैन ।
चुरे र तराईको सङ्गम (पहाडको फेदी र मधेसको शिर) मा अवस्थित प्राकृतिक वातावरण र यहाँ निर्माण भएका पर्यटकीय संरचनाहरू वडा नं. ७ का ठूला सम्पत्ति हुन् तर संरचना बन्नु र बनेको संरचनाको कारण स्थानीयको गोजीमा आर्थिक लाभ पुग्नु दुई नितान्त फरक विषय हुन् ।
यदि निर्मित पर्यटकीय स्थलहरू केवल ‘टिकटक बनाउने’ वा ‘फोटो खिच्ने’ केन्द्रमा मात्र सीमित रहे भने ती संरचनाहरू दीर्घकालमा गाउँपालिकाका लागि मर्मत सम्भारको अतिरिक्त बोझ मात्र बन्नेछ ।
अबका प्रत्याशीहरूले “कति वटा संरचना बनाउने?“ भन्ने विषयमा कुनै तर्क नगरी बनेका संरचनाबाट वडाबासीको आयस्रोत कसरी दोब्बर बनाउने भन्ने स्पष्ट व्यवसायिक अवधारणा लिएर आउनु पर्छ । यस वडाको समग्र रूपान्तरणका लागि आर्थिक पर्यटन र स्थानीय उत्पादनको एकीकरण, आधुनिक कृषि, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा र लक्षित सामाजिक सुरक्षा एवं युवा उद्यमशीलतालाई प्रमुख आधारका रूपमा अघि बढाउन आवश्यक छ ।
पर्यटनलाई केवल अवलोकनमा सीमित नराखी स्थानीय हस्तकला, कृषि उपज बिक्री केन्द्र, होमस्टे, रैथाने परिकार तथा सांस्कृतिक कार्यक्रमसँग जोड्दै सार्वजनिक–निजी साझेदारी मार्फत निजी लगानी र उद्यमशीलता प्रवद्र्धन गर्नु पर्छ ।
परम्परागत अनुदान प्रणालीलाई परिमार्जन गरी व्यावसायिक तथा चक्लाबन्दी खेती, शीतभण्डार, प्रशोधन केन्द्र, बजार सुनिश्चितता तथा माटो अनुकूल उच्च मूल्यका बालीको प्रवद्र्धनमा जोड दिनु पर्छ ।
स्वास्थ्य र शिक्षाका क्षेत्रमा भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने भएकाले सीपमूलक, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षाको विस्तार, स्वास्थ्य चौकीमा विशेषज्ञ सेवाको पहुँच, आधारभूत निःशुल्क औषधि तथा ज्येष्ठ नागरिक र विपन्न वर्गका लागि घरदैलो स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक छ ।
कम जनसंख्याको अवसरलाई उपयोग गर्दै बेरोजगार युवा, गरिब परिवार, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ तथ्याङ्कका आधारमा उद्यमशीलता विकास, सीपमूलक तालिम तथा बिनाधितो वा सहुलियतपूर्ण कर्जाको सहजीकरण गरी समावेशी र दिगो विकासलाई गति दिन सकिन्छ ।
मलाई लाग्छ, आगामी निर्वाचनमा बुद्धशान्ति–७ का मतदाताहरूले आफ्नो राजनीतिक चेतना र सोचमा परिपक्वता ल्याउँदै क्षणिक प्रलोभन, व्यक्तिगत नातागोता वा दलीय अन्धभक्तिका आधारमा नभएर विकास र परिणामका आधारमा मतदान गर्ने संस्कृतिको विकास गर्न अति आवश्यक छ ।
नागरिकले गर्ने आजको एउटा विवेकपूर्ण निर्णयले वडाको आगामी पाँच वर्षको समग्र विकास, समृद्धि र सुशासनको यात्रालाई प्रत्यक्ष रूपमा निर्देशित गर्नेछ । यस वडाका अधिकांश बासिन्दाहरू लामो समयदेखि सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास र भूमिसम्बन्धी अनिश्चितताको गम्भीर पीडाबाट गुज्रि रहेका छन् । राजनीतिक दल र उम्मेदवारहरूलाई पुराना आश्वासन, आधारहीन दाबी र भावनात्मक भाषणमा मात्र सीमित हुनबाट बञ्चित गरिनु पर्छ ।
जनप्रतिनिधि बन्न चाहनेहरूलाई ऐलानी–सुकुम्बासी समस्याको स्थायी र कानुनी समाधान, पारदर्शी प्रक्रियाबाट वास्तविक सुकुम्बासीको पहिचान र समय सीमासहित जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने स्पष्ट एवं उत्तरदायी प्रतिबद्धता प्रस्तुत गर्न बाध्य बनाउनु पर्छ । उम्मेदवारहरूले आगामी पाँच वर्षभित्र भूमिसम्बन्धी समस्याको दीर्घकालीन हल कसरी खोज्ने भन्ने व्यावहारिक खाकासँगै कति युवालाई स्थानीय स्तरमै स्वरोजगार र उद्यमी बनाउने, कृषि तथा स्थानीय पर्यटनको प्रवद्र्धन मार्फत वडाको आन्तरिक आय र बासिन्दाको प्रतिव्यक्ति आय कति प्रतिशतले वृद्धि गर्ने भन्ने स्पष्ट खाका ल्याउनु पर्छ ।
यस वडामा अवस्थित हरियाली बालविकास केन्द्र तथा राष्टिय माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि के–कस्ता प्रविधिमैत्री एवं ठोस कार्यक्रम सञ्चालन गर्ने र आधारभूत स्वास्थ्य सेवामा कुन–कुन नयाँ सुविधा निःशुल्क वा सहुलियत दरमा घरदैलोमै उपलब्ध गराउने भन्ने विषयमा स्पष्ट लक्ष्य र नतिजामुखी कार्ययोजना जनता सामु प्रस्तुत गर्नै पर्छ । भूमिसम्बन्धी हकको ग्यारेन्टी, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारलाई चुनावी बहसको केन्द्रमा राखेर योग्य र सक्षम नेतृत्व चयन गर्न सकिएमा मात्र बुद्धशान्ति–७ मा वास्तविक, न्यायपूर्ण र दिगो सामाजिक–आर्थिक रूपान्तरण सम्भव हुनेछ ।
मेरो विचारमा पूर्वाधार निर्माणको प्रारम्भिक चरण पार गरी आर्थिक र सामाजिक रूपान्तरणको ऐतिहासिक दोस्रो चरणमा प्रवेश गरेको यस बुद्धशान्ति–७ वडाका निमिक्त पुराना सडक, ढल र कंक्रिटका प्राथमिकता मात्र पर्याप्त छैन । सुशासन, उत्पादनशीलता, दिगो रोजगारी र सामाजिक न्याय नै अबको सफलताका नयाँ मापदण्ड हुन् ।
यदि आगामी निर्वाचनलाई पुनः परम्परागत भौतिक संरचनामै सीमित राखिएमा यस वडाका बासिन्दाहरुको विकास–आकांक्षा माथिको गम्भीर खेलबाड हुनेछ । यस वडामा निर्वाचित जनप्रतिनिधिले पूर्वाधारको जगमा उभिएर उत्पादन, स्थानीय पर्यटन, रोजगारी र उच्चस्तरीय मानव पुँजी निर्माणलाई चुनावी बहसको सर्वोपरि एजेन्डा बनाउनु पर्छ… अनि मात्रै यो रणनीतिक रूपान्तरणबाट बुद्धशान्ति–७ लाई दिगो समृद्धि र नतिजामुखी सुशासनको नमुना वडा बनाउन सकिनेछ ।














