बिर्तामोड, २७ साउन : बिर्तामोडबाट आज दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ।


कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा रहेका ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड नगरपालिका–७ स्थित तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मियालाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको हो।


 जनहितमा जारी

बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले उनीहरूलाई उद्धार गरेको हो।

उद्धारपछि दुवै जनालाई मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मासहितको टोलीलाई जिम्मा लगाइएको कार्यवाहक नगरप्रमुख संग्रौलाले जानकारी दिनुभयो।


मिया मानसिक असन्तुलनका कारण बजार क्षेत्रमा जथाभावी हिँड्ने गरेको र साहु कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएपछि उद्धार गरिएको नगरपालिकाले जनाएको छ।


9f79979f-717e-46c3-99bf-65fccc009069कार्यवाहक नगरप्रमुख संग्रौलाका अनुसार बिर्तामोडबाट हालसम्म ३२ जनाभन्दा बढीलाई उद्धार गरी मानव सेवा आश्रम मेचीनगरमा पठाइएको छ।


मानव सेवा आश्रमका झापा जिल्ला संयोजक विश्वकर्माका अनुसार हाल मेचीनगरस्थित आश्रममा १०८ जना आश्रित छन्।