बिर्तामोड । पूर्वी नेपालको पर्यटन, आतिथ्य तथा स्थानीय कला–संस्कृतिको प्रवर्द्धनमा सक्रिय होटल हिकोला हेरिटेज प्रा .लि आफ्नो गौरवपूर्ण यात्राको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको छ।

१३औँ वर्ष प्रवेशको अवसरमा होटलले पर्यटनसँगै साहित्य, संगीत र कलालाई जोडेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

होटल हिकोला हेरिटेज प्रालिले आगामी २०८३ साल भदौ ४ गते अर्थात् २० अगस्ट २०२६, दिउँसो १ बजेदेखि साहित्य चौतारीको प्रेक्षालयमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको हो।

कार्यक्रमको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत होटलले आफ्नो विगतको यात्रा, वर्तमान अवस्था, आगामी योजना तथा पर्यटन, साहित्य, संगीत र कलासँग जोडिएको सामाजिक–सांस्कृतिक अभियानबारे जानकारी गराएको छ।

 जनहितमा जारी

पत्रकार सम्मेलनमा होटल हिकोला हेरिटेज प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले होटलले १२ वर्षको यात्रामा हासिल गरेका उपलब्धि, सामना गरेका चुनौती र आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले पर्यटन प्रवर्द्धनमा हेरिटेजको भूमिका, काँकरभिट्टामा शाखा विस्तारको विषय, शाखासँग सम्बन्धित वर्तमान कानुनी अवस्था तथा पूर्वी नेपालको पर्यटन विकासमा साहित्य, संगीत र कलाको भूमिकाबारे समेत प्रकाश पार्नुभयो।

श्रेष्ठका अनुसार १३औँ वर्ष प्रवेशको अवसरमा होटलले आफ्नो यात्रामा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा कृतज्ञता व्यक्त गर्ने कार्यक्रमसमेत राखेको छ। उत्कृष्ट कर्मचारी, उत्कृष्ट सेवाग्राही तथा ग्राहक, विशिष्ट अतिथि, सहयोगी व्यक्तित्वका साथै साहित्य, संगीत र कला क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने उहाँले बताउनुभयो।

कार्यक्रममा सरगम संगीत विद्यालय तथा चर्चित गायिका जुनु गौतम लगायतलाई समेत सम्मान तथा आदर प्रदान गरिने आयोजकले जनाएको छ। लामो समयदेखि होटलको यात्रामा साथ, सहयोग र सद्भाव प्रदान गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मानमार्फत कृतज्ञता व्यक्त गरिने श्रेष्ठको भनाइ छ।

१३औँ वर्ष प्रवेशको कार्यक्रम केवल औपचारिक वार्षिकोत्सवमा सीमित नरहने होटलले जनाएको छ। कार्यक्रममा साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन्। नेपाली मौलिक सिर्जना, संगीत र कलामार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनालाई कार्यक्रमका प्रस्तुतिहरूमार्फत उजागर गरिने श्रेष्ठले बताउनुभयो।

*‘पर्यटनसँगै साहित्य, संगीत र कला’*लाई जोड्दै अघि बढ्ने अभियानले पूर्वी नेपालको मौलिक संस्कृति, सिर्जना र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास होटलले लिएको छ।

होटलले १३औँ वर्षमा प्रवेशसँगै आगामी दिनमा सेवा गुणस्तर, स्वच्छता, अतिथ्य सत्कार, ग्राहक सन्तुष्टि, पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई अझ प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। यसका लागि सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउँदै अतिथिको सन्तुष्टिलाई केन्द्रमा राखेर नयाँ योजना अघि सारिने प्रेस नोटमा उल्लेख छ।

१३औँ वर्ष प्रवेशको अवसरमा होटलले आफ्ना नियमित तथा नयाँ ग्राहकलाई लक्षित गरी एक महिनासम्म विशेष छुट तथा विभिन्न सुविधा उपलब्ध गराउने भएको छ।

प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार होटल हिकोला हेरिटेजमा नियमित आउने ग्राहकहरूलाई समेत यो विशेष सुविधा लागू हुनेछ।

होटल हिकोला हेरिटेजको औपचारिक शुभारम्भ तत्कालीन पर्यटनमन्त्री कृपाले २०७२ साल भदौ ४ गते गर्नुभएको थियो। त्यसयता होटलले आतिथ्य सेवा प्रदान गर्नुका साथै स्थानीय पर्यटन, रोजगारी, संस्कृति तथा पूर्वी नेपालको पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्नो यात्रा अघि बढाउँदै आएको छ।

१२ वर्षको यात्रामा होटलले सेवाग्राही, अतिथि, शुभेच्छुक, शुभचिन्तक, पर्यटक, व्यवसायी, सामाजिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्व र कर्मचारीहरूको निरन्तर साथ तथा सहयोग प्राप्त गरेको प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो।

होटल हिकोला हेरिटेजको १३औँ वर्ष प्रवेशले केवल एउटा व्यावसायिक संस्थाको वार्षिकोत्सवलाई मात्र प्रतिनिधित्व नगरी पूर्वी नेपालको पर्यटनलाई साहित्य, संगीत, कला र मौलिक संस्कृतिसँग जोडेर नयाँ ढंगले प्रवर्द्धन गर्ने अभियानलाई समेत थप ऊर्जा दिने अपेक्षा गरिएको छ।