पवन ढकाल बुद्धशान्ति–३, झापा — सामुदायिक वन भन्नासाथ धेरैको बुझाइमा काठ, दाउरा तथा अन्य वन पैदावरको व्यवस्थापन र संरक्षण गर्ने क्षेत्र भन्ने हुन्छ। तर, झापाको बुद्धशान्ति–३ मा रहेको आदर्श नमुना सामुदायिक वन उपभोक्ता समूहले भने यही परम्परागत अवधारणालाई विस्तार गर्दै वन संरक्षणसँगै पर्यापर्यटन र आयआर्जनलाई समेत जोडेर उदाहरणीय पहिचान बनाउँदै गएको छ।

२०५३ सालमा स्थापना भएको यस सामुदायिक वनमा हाल करिब १ हजार २ सय उपभोक्ता आबद्ध छन्। स्थापनाकालदेखि नै वन संरक्षण, संवर्द्धन र उपभोक्ताको आवश्यकताअनुसार वन पैदावरको उपयोग गर्दै आएको समूहले पछिल्लो समय आफ्नो वन क्षेत्रलाई पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गरेको हो।

01 2

सामुदायिक वनले उपभोक्तालाई काठ, दाउरा लगायतका वन पैदावर उपलब्ध गराउने काम गर्दै आए पनि पछिल्लो समय वनको उपयोग र सम्भावनालाई फराकिलो बनाइएको छ।

 जनहितमा जारी

समूहले वन क्षेत्रभित्रै पिकनिक स्पोट, सार्वजनिक व्यायामशाला, बाल उद्यान, पानी पोखरी, बगैंचा तथा आकर्षक पानीका फोहोरा निर्माण गरी सञ्चालनमा ल्याएको छ। हरियाली वातावरणसँगै मनोरञ्जन र पारिवारिक समय बिताउन सकिने संरचनाहरू थपिएपछि वन क्षेत्र स्थानीयका लागि घुमफिर तथा मनोरञ्जनको गन्तव्य बन्न थालेको छ।

विशेषगरी हिउँदको समयमा यहाँ पिकनिक खानेहरूको चहलपहल बढ्ने गरेको छ। विभिन्न संघ–संस्था तथा समूहहरूले साधारणसभा, भेला, बैठक तथा अन्य कार्यक्रमसमेत यही क्षेत्रमा आयोजना गर्ने गरेका छन्।

वनभित्रै मनोरञ्जन र धार्मिक पर्यटन

आदर्श नमुना सामुदायिक वन परिसरमा वन तथा पर्यापर्यटनको आकर्षणसँगै धार्मिक र सांस्कृतिक पक्षलाई समेत समेटिएको छ। पार्कभित्रै रहेको मन्दिर, फलैँचा, बगैंचा, पोखरी तथा विभिन्न आकर्षक संरचनाहरूले आगन्तुकलाई थप आकर्षित गर्ने गरेका छन्।

प्रकृतिसँग रमाउँदै समय बिताउन चाहनेहरूका लागि यहाँ फोटो तथा भिडियो खिच्न सकिने विभिन्न स्थानसमेत निर्माण गरिएका छन्। पछिल्लो समय सामाजिक सञ्जालका लागि फोटो, भिडियो तथा टिकटक बनाउन आउने युवायुवतीको संख्या पनि बढ्दै गएको समूहको भनाइ छ।

अध्यक्ष खगेन्द्र आचार्यका अनुसार सार्वजनिक बिदाका दिन वन क्षेत्रमा आगन्तुकको चहलपहल अझ बढ्ने गरेको छ।

आचार्यका अनुसार वन संरक्षणसँगै पर्यापर्यटनलाई जोड्ने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएपछि वन क्षेत्रको उपयोगिता अझ बढेको छ। “पहिले वन भन्नासाथ काठ–दाउरा र वन पैदावरसँग मात्रै जोडिन्थ्यो। अहिले वन संरक्षणसँगै पर्यापर्यटन र आयआर्जनको माध्यमका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ,” भन्ने समूहको बुझाइ छ।

0568999999

पर्यटक तथा स्थानीयको आगमन बढेसँगै वन क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पुर्‍याउँदै आएको छ।

आदर्श नमुना सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, व्यवस्थापन तथा उपभोक्तामैत्री गतिविधिमा गरेको कामको मूल्यांकनस्वरूप जिल्लामै उत्कृष्ट सामुदायिक वनका रूपमा पुरस्कृतसमेत भइसकेको छ।

वन संरक्षणमा उपभोक्ताको सहभागिता, व्यवस्थित व्यवस्थापन, पर्यापर्यटनको विकास तथा सामुदायिक हितका गतिविधिलाई प्राथमिकता दिँदै आएको समूहले आफ्नो पहिचानलाई निरन्तर फराकिलो बनाउँदै लगेको छ।

03333363

सामुदायिक वनको विकास कुनै एक व्यक्ति वा नेतृत्वको प्रयासले मात्र सम्भव हुँदैन। उपभोक्ताको सहभागिता, समिति तथा नेतृत्वको समन्वय र दीर्घकालीन योजनाले नै सामुदायिक वनलाई दिगो बनाउन सकिन्छ।

आदर्श नमुना सामुदायिक वनले यही सामूहिक भावनालाई आत्मसात् गर्दै वन संरक्षण, वातावरणीय संरक्षण, मनोरञ्जन, पर्यटन र स्थानीय आयआर्जनलाई एउटै अवधारणामा जोड्ने प्रयास गरिरहेको छ।

बुद्धशान्ति–३ को स्थानीय वन क्षेत्रलाई संरक्षणसँगै पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्ने यो प्रयासले सामुदायिक वनको परम्परागत भूमिकालाई नयाँ आयाम दिएको छ।

१ हजार २ सय उपभोक्ताको साझा सम्पत्तिका रूपमा रहेको यो वन आज काठ–दाउराको स्रोत मात्र नभई प्रकृति, पर्यटन, मनोरञ्जन र सामुदायिक समृद्धिको आधार बन्दै गएको छ। यही कारण आदर्श नमुना सामुदायिक वनले बुद्धशान्तिको मात्र नभई झापा जिल्लाकै उत्कृष्ट र अनुकरणीय सामुदायिक वनका रूपमा आफ्नो नाम स्थापित गर्ने दिशामा अघि बढिरहेको देखिन्छ।