बिर्तामोड, झापा — साहित्य चौतारी, बिर्तामोड, झापा, नेपालको आयोजनामा बिर्तामोडमा विभिन्न साहित्यिक तथा सामाजिक कार्यक्रमहरू भव्यताका साथ सम्पन्न भएका छन्। संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङको अध्यक्षता र महाकाव्यकार मित्रप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव तुलसीप्रसाद निरौलाले राखेका थिए भने सल्लाहकार शिरो सान्दाईले संस्था स्थापनादेखि हालसम्म दिवंगत भएका स्रष्टाहरू, भोटेकोशी बाढीका मृतकहरू तथा जेनजी शहीदहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।

कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको जन्मोत्सव एवं कृति विमोचन रह्यो। पूर्व अध्यक्ष टंक बिकल्पले अध्यक्ष श्रेष्ठको प्रेरणादायी जीवनी प्रस्तुत गरेका थिए। सोही अवसरमा श्रेष्ठद्वारा लिखित पहिलो कविता सङ्ग्रह 'देवीभक्तका सिर्जनाहरू' तथा जन्मदिनको शुभकामना गीतको विमोचन गरियो।
विमोचित कृतिको समीक्षा प्रा.डा. गंगाप्रसाद अधिकारीले गरेका थिए। कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नीप्रसाद सिग्देल, वेदविद्यापीठका प्राचार्य हेमन्त भण्डारीसहित प्रमुख अतिथि र अन्य विशिष्ट व्यक्तित्वहरूले संस्थापक संरक्षक श्रेष्ठलाई माला, टीका लगाई जन्मोत्सवको शुभकामना र आशीर्वाद प्रदान गरेका थिए।
कार्यक्रममा प्राज्ञ सुमित्रा वाङ्देल चेली, अभिनन्दित साहित्यकार पुण्यप्रसाद खरेल, विन्दू दाहाल मुकदर्शक, सल्लाहकार हरिनारायण भट्टराई र अन्तर्राष्ट्रिय संयोजक डीएल प्रधान लगायतले मन्तव्य व्यक्त गर्दै शुभकामना दिएका थिए।
त्यसैगरी, साहित्यिक सांस्कृतिक उत्सवको रूपमा परिणत भएको सो कार्यक्रममा ईलामे जेठो, लीला अनमोल, पदम अधिकारी, मीना अधिकारी, जमुना खरेल र गगन भट्टराईले आआफ्ना उत्कृष्ट साहित्यिक रचना वाचन गरेका थिए। अर्जुनधारा संस्कृत वेदविद्यापीठका छत्रपति गुरागाईंले आदिकवि मोतीराम भट्टको कविता वाचन गरेर कार्यक्रममा विशेष रौनकता थपेका थिए।
कार्यक्रमको साङ्गीतिक चरणमा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले राष्ट्रिय गीत र आफ्ना रचनाका विभिन्न भक्तिभजनहरू गाएका थिए। उनलाई गायिकाद्वय ज्योति खाती, रक्षा तिम्सिना र रोहिका तिम्सिनाले साङ्गीतिक साथ दिएका थिए।
मानवीय सेवालाई प्राथमिकता दिँदै कार्यक्रमका बीच भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि साहित्य चौतारी बिर्तामोड र होटल हिकोला हेरिटेज को संयुक्त सहकार्यमा ५१ हजार रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको थियो।
संस्थाका पूर्व महासचिव भानुभक्त कुभेण्डेलीले निकै कुशल ढङ्गले सञ्चालन गरेको उक्त कार्यक्रमले साहित्य, सङ्गीत र समाजसेवाको उत्कृष्ट त्रिवेणी प्रस्तुत गरेको थियो।














