बिर्तामोड, झापा ।

आम उपभोक्ताको अधिकार सुरक्षा र बजारमा हुने कालोबजारी नियन्त्रणका लागि आक्रामक रूपमा उत्रिएको उपभोक्ता जागरण अभियान नेपाल, जिल्ला कार्यसमिति झापाले आफ्नो दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै गतिविधिहरू तीव्र पारेको छ।

नयाँ कार्यसमिति गठनसँगै संस्थाले झापाका विभिन्न बजारमा भएका उपभोक्ता हितविरोधी गतिविधि र कारबाहीका फेहरिस्त सार्वजनिक गर्दै आगामी कडा रणनीति अघि बढाएको छ।

बिर्तामोडमा अाज आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले झापामा बजार अनुगमनलाई अझै व्यापक र प्रभावकारी बनाउने घोषणा गरेको छ। यसैक्रममा सम्पन्न अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

प्रचारात्मक सूचना

नवगठित समितिको उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देवीभक्त आचार्य, सह–सचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा अर्जुन कार्की, कमला शिवाकोटी, धर्मेन्द्र गुप्ता, राजन पौडेल, थीरप्रसाद खतिवडा, उदयनारायण ढुङ्गाना, बिदुर तिवारी र अनुप निरौला रहेका छन् भने कुलप्रसाद ओडारी, अनिता दाहाल, जीवन खड्का र राजिव धिमाल रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शालिकराम भट्टराईले झापामा उपभोक्ता ठग्ने व्यापारीहरूमाथि कडा कानुनी कदम चालिएको प्रतिवेदन प्रस्तुत गरेका छन्। उनका अनुसार मेचीनगर–९ मा म्याद गुज्रिएको दाना बिक्री गर्ने दास किराना पसललाई अनुगमनपश्चात् सरोकारवालाहरूको समन्वयमा खाद्य सुरक्षा ऐन बमोजिम दुई लाख रुपैयाँ जरिवाना गराइएको छ।

त्यस्तै, बिर्तामोड–९ मा न्वारानको भोज खाएपछि ६० जनाभन्दा बढी  आफन्त बिरामी परेको घटनामा मुछिएको गणेश फ्रेस हाउसको संयुक्त अनुगमन गरी तत्काल सरसफाइ सुधार गर्न कडा निर्देशन दिइएको छ।

यसैगरी, बुद्धशान्ति–३ स्थित शिवम् ट्रेड एण्ड सप्लायर्सले प्रचलित बजार मूल्यभन्दा दोब्बरभन्दा बढी अर्थात् १२५ रुपैयाँ पर्ने काँडेतारलाई ३६० रुपैयाँ असूली गरेको उजुरीमाथि आन्तरिक राजस्व कार्यालयमार्फत अनुसन्धान अघि बढाइएको छ।

प्रादेशिक अस्पताल भद्रपुरमा औषधीको वास्तविक मूल्य १९५० रुपैयाँ हुनुपर्नेमा झुक्किएर ६ हजार ८६८ रुपैयाँ असुलिएको घटना सामाजिक सञ्जालमा आएपछि अभियानको हस्तक्षेप र पहलमा उक्त बढी रकम सेवाग्राहीलाई फिर्ता गराइएको छ।

पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय उपाध्यक्ष राजेन्द्रकुमार घिमिरेले उपभोक्ताले खरिद गर्ने वस्तु वा सेवाको मूल्य, परिणाम, शुद्धता र गुणस्तरबारे सुसूचित हुनुपर्ने अधिकारको पक्षमा संस्था सधैं उभिने बताएका छन्।

नवगठित समितिले आगामी दुई वर्षभित्र जिल्लाका बाँकी सबै पालिकाहरूमा पालिका समिति विस्तार गर्ने लक्ष्य लिएको छ। हाल मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिकामा मात्र पालिका समिति क्रियाशील रहेका छन्।

यसका साथै, युवापुस्तामा मौलाउँदै गएको कुलत तथा लागुपदार्थ दुव्र्यसन न्यूनीकरण र उपभोक्ता सचेतना अभिवृद्धिका लागि नेपालको सबैभन्दा होचो भाग कचनकवलदेखि बाहुण्डाँगीसम्म प्ले–कार्ड, ब्यानर र नारासहितको बृहत सचेतना र्‍याली सञ्चालन गर्ने आगामी योजना समेत सार्वजनिक गरिएको छ।