| माधव 'कल्पित' |

झापा नेपाली साहित्य, कला र रंगमञ्चको क्षेत्रमा लामो समयदेखि उर्वर भूमि मानिंदै आएको जिल्ला हो । यहाँको सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतनालाई साहित्य र रंगमञ्चले निरन्तर अभिव्यक्ति दिंदै आएको छ । कविता, कथा, उपन्यास, गजल, निवन्ध, गीत-संगीतदेखि नाटक र रंगमञ्चसम्म झापाले नेपाली सिर्जनशील क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । पछिल्लो समय प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको विस्तार र बदलिंदो जीवनशैलीका कारण साहित्य तथा रंगमञ्चका परम्परागत गतिविधिमा केही चुनौती थपिए पनि नयाँ पुस्ताको सहभागिता र सिर्जनशीलताले यस क्षेत्रमा नवी सम्भावनाको ढोका खोलिरहेको छ।

यही परिवेशमा झापाको नाट्य आन्दोलनलाई संस्थागत र व्यवस्थित ढंगले अघि बढाउने महत्वपूर्ण संस्थाको रूपमा क्षितिज नाट्य समूहको भूमिका विशेष रूपमा उल्लेखनीय छ । वि.सं. २०५८ सालमा स्थापना भएको क्षितिजले भाषाको रंगमञ्चलाई केवल मनोरञ्जनको माध्यमका रूपमा सीमित नराखी सामाजिक चेतना, मानवीय संवेदना, विकृति-विससंगतिको विरोध र सकारात्मक सामाजिक रूपान्तरणको माध्यमका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएको छ।

भाषामा नाट्य गतिविधिहरूको इतिहासलाई हेर्दा क्षितिज नाट्य समूहको योगदानलाई अलग गरेर हेर्न सकिंदैन । स्थापना कालदेखि नै समूहले विभिन्न नाटक मञ्चन, प्रशिक्षण, रंगकर्मी उत्पादन, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सामाजिक जागरणका गतिविधिलाई निरन्तरता दिंदै आएको छ। यसले भाषामा रंगकर्मीहरूको एउटा पुस्ता तयार गर्ने मात्र होइन, नयाँ पुस्तालाई रंगमञ्चप्रति आकर्षित गराउने वातावरण निर्माण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ। क्षितिजको अर्को महत्वपूर्ण योगदान भनेको नाटकघर निर्माणको अभियान हो । नेपालमा रंगमञ्चका लागि स्थायी पूर्वाधार निर्माण आफैंमा चुनौतीपूर्ण विषय हो । राज्य वा दाला संस्थाको पर्याप्त सहयोगबिना एउटा नाट्य संस्थाले आफ्नै प्रयासमा रंगमञ्चको संरचना निर्माण गर्नु सामान्य कुरा होइन । तर क्षितिजले सामूहिक सहभागिता र जनसहयोगलाई आधार बनाउँदै 'एक इट्टा अभियान' अघि बढायो।

406603227_122097032504148038_3527500539653428910_n

प्रचारात्मक सूचना

'एक इट्टा अभियान' केवल भवन निर्माणका लागि रकम संकलन गर्ने अभियान थिएन; यो भाषाको कला, साहित्य र रंगमञ्चप्रति आम नागरिकको स्वामित्व र सहभागिता जोड़ने अभियानका रूपमा स्थापित भयो । प्रतिइटा १५ रूपैयाँको अवधारणासहित अघि बढाइएको यस अभियानमा विभिन्न क्षेत्रका व्यक्ति, कलाकार, साहित्यकार, सामाजिक अभियन्ता, व्यवसायी तथा सर्वसाधारणको सहभागिता जुट्दै गयो । सानो-सानो सहयोगलाई सामूहिक शक्तिमा परिणत गर्दै क्षितिजले नाट्य पूर्वाधार निर्माणको सपना अघि बढायो ।

यस अभियानको परिणामस्वरुप झापामा आफ्नै नाट्य पूर्वाधार निर्माण गर्ने दिशामा संरचना निर्माण तथा १४५ धुर जग्गा व्यवस्थापन गर्न सफल हुनु क्षितिजको संस्थागत यात्राको महत्वपूर्ण उपलब्धि हो । यसले एउटा नाट्य समूहको भवन मात्र निर्माण गरेको छैन, भाषाको कला, साहित्य र रंगमञ्चको भविष्यका लागि एउटा स्थायी आधार तयार गरेको छ।

आज भाषामा नाट्य तथा साहित्यिक क्षेत्रले नयाँ सम्भावनासँगै केही गम्भीर चुनौती पनि सामना गरिरहेको छ । नियमित रंगमञ्चीय गतिविधि सञ्चालनका लागि आर्थिक स्रोतको अभाव, दक्ष प्राविधिक जनशक्तिको कमी, कलाकारको निरन्तरता, दर्शक विकास, विद्यालय तथा युवापुस्तासँग रंगमञ्चको सम्बन्ध विस्तार र साहित्यिक कृतीलाई रंगमञ्चसँग जोड़ने काम अझै चुनौतीका रूपमा रहेका छन् । डिजिटल माध्यमको बढ्दो प्रभावले प्रत्यक्ष रंगमञ्चको दर्शक संस्कृतिमा समेत प्रभाव पारेको छ।

तर चुनौतीसँगै अवसर पनि उत्तिकै छन् । भाषामा ठूलो युवा जनसंख्या, सक्रिय साहित्यिक संस्था, विद्यालय तथा कलेज, स्थानीय तहको बढ्दो सांस्कृतिक चासो र स्थापित रंगकर्मीहरूको अनुभवलाई एकीकृत सक्ने हो भने भाषालाई कोशी प्रदेशको महत्वपूर्ण नाट्य तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ।

यसका लागि क्षितिज नाट्य समूहले अब आफ्नो भूमिकालाई अझ फराकिलो बनाउनुपर्ने देखिन्छ । नाटक मञ्चनसंगै नियमित रंगमञ्च प्रशिक्षण, बाल तथा युवा रंगमञ्च, नाटक लेखन कार्यशाला, साहित्य र रंगमञ्चबीच सहकार्य, राष्ट्रियस्तरका नाट्य महोत्सव, स्थानीय मौलिक कथामा आधारित नाटक निर्माण तथा डिजिटल अभिलेखीकरणलाई प्राथमिकता दिन आवश्यक छ । झापाका साहित्यकारका कृति रंगमञ्चमा ल्याउने र रंगमञ्चका सिर्जनालाई साहित्यिक दस्तावेजका रूपमा सुरक्षित गर्ने कामले दुई क्षेत्रबीचको सम्बन्ध अझ बलियो बनाउन सक्छ।

क्षितिजको नेतृत्वमा निर्माण भइरहेको नाट्य पूर्वाधारलाई भाषाको साझा सांस्कृतिक सम्पत्तिको रूपमा विकास गर्नु पनि आजको आवश्यकता हो । यो कुनै एक संस्था वा कोही व्यक्तिको मात्र उपलब्धि नभई भाषाका कलाकार, साहित्यकार, दर्शक, सहयोगी र आम नागरिकको सामूहिक योगदानको प्रतिफल हो । त्यसैले यसको संरक्षण, सञ्चालन र विकासमा सबै पक्षको साझा जिम्मेवारी आवश्यक छ।

भाषाको नाट्य तथा साहित्यिक यात्रामा क्षितिज नाट्य समूहले विगतमा खेलेको भूमिका महत्वपूर्ण छ, वर्तमानमा पनि सक्रिय छ र भविष्यमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने सम्भावना बोकेको छ । 'एक इट्टा अभियान' ले एउटा भवन निर्माण गर्ने अभियानलाई जनआन्दोलनको स्वरूप दिएको छ भने त्यसले भाषाको रंगमञ्चलाई संस्थागत भविष्यतर्फ अघि बढाउने आधारसमेत निर्माण गरेको छ।

अब आवश्यकता विगतका उपलब्धिमा मात्र संतुष्ट हुने होइन, त्यसलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै भाषाको नाट्य तथा साहित्यिक आन्दोलनलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने हो । क्षितिज नाट्य समूहले निर्माण गरेको आधारलाई अझ फराकिलो बनाउँदै राज्य, स्थानीय तह, साहित्यिक-सांस्कृतिक संस्था, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य गर्न सके भाषाको रंगमञ्चले नयाँ उचाइ हासिल गर्न सक्छ।

अन्ततः भाषाको नाट्य र साहित्य केवल मनोरञ्जन or सिर्जनाको क्षेत्र मात्र होइन, समाजको चेतना, इतिहास, संस्कृति र परिवर्तनको दस्तावेज पनि हो । यस यात्रामा क्षितिज नाट्य समूहले देखाएको निरन्तरता, संघर्ष र 'एक इट्टा अभियान' को सामूहिक भावना आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ । यही अभियानलाई अझ व्यापक बनाउँदै भाषालाई साहित्य र रंगमञ्चको सशक्त केन्द्रका रूपमा स्थापित गर्नु अबको साझा लक्ष्य हुनुपर्छ।