बिर्तामोड । नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता विकास, संस्थागत सुदृढीकरण तथा राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गर्ने भएको छ। यसपटकको तेस्रो संस्करणको आतिथ्यता इक्यान झापा शाखाले गर्ने भएको हो।

देशभर रहेका इक्यानका नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याएर नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक सोच, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा गहन छलफल गर्ने उद्देश्यले लिडर्स मिट आयोजना हुँदै आएको हो। यसको पहिलो संस्करण इक्यान चितवन शाखा र दोस्रो संस्करण इक्यान मकवानपुर शाखाको आतिथ्यतामा सम्पन्न भएको थियो। सोही निरन्तरताअन्तर्गत तेस्रो संस्करण आयोजना गर्ने जिम्मेवारी यसपटक इक्यान झापाले पाएको हो।

सेप्टेम्बर १८, १९ र २० गते झापाको बिर्तामोडस्थित किङ्सबरीमा आयोजना हुने इक्यान लिडर्स मिट ३.० मा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १५० जना नेतृत्व तथा प्रतिनिधिको सहभागिता रहने इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिनुभयो।

प्रचारात्मक सूचना

IMG_2037

कार्यक्रममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, वित्तीय व्यवस्थापन, संस्थागत सुशासन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण, गहन अन्तरक्रिया र अनुभव आदानप्रदान गरिनेछ। बदलिँदो ग्लोबल एजुकेसन मोबिलिटीमा नेपालको भूमिका, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका नयाँ अवसर तथा चुनौती र इक्यानको आगामी रणनीतिका विषयमा समेत कार्यक्रममा बहस तथा छलफल हुने जनाइएको छ।

इक्यानमा हाल ७५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेका छन् भने देशका विभिन्न क्षेत्रमा यसको शाखा संरचना विस्तार भइसकेको छ। काठमाडौंमा केन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका गतिविधि, अनुभव र अवसरलाई प्रदेश, जिल्ला, सहर तथा देशका विभिन्न शैक्षिक बजारसम्म जोड्दै संस्थागत नेतृत्व निर्माण गर्नु इक्यानको महत्वपूर्ण प्राथमिकता रहेको इक्यान केन्द्रीय द्वितीय सचिव आशिष कार्कीले बताउनुभयो।

IMG_2039

बिर्तामोडस्थित इक्यान झापा शाखाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव कार्कीले केन्द्र र शाखाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै देशभरका नेतृत्वलाई एउटै साझा मञ्चमा ल्याउने उद्देश्यले लिडर्स मिटलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार लिडर्स मिट केवल औपचारिक भेला नभई नेतृत्व विकास, संस्थागत सुशासन र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको आगामी दिशाबारे रणनीतिक संवाद गर्ने राष्ट्रिय मञ्चका रूपमा विकास हुँदै गएको छ।

तेस्रो संस्करणको आतिथ्यता झापा शाखाले गर्नुले इक्यानको केन्द्रीय संरचना र क्षेत्रीय शाखाबीचको संस्थागत स्वामित्व, सहकार्य तथा नेतृत्व हस्तान्तरणको अभ्यासलाई समेत प्रतिबिम्बित गर्ने इक्यानले जनाएको छ।

इक्यान झापा शाखाका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा इक्यान झापाका सल्लाहकार मदन अधिकारी, जिल्ला कार्यसमिति सदस्य नवीन बोहरा लगायत इक्यानका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

लिडर्स मिट ३.० मार्फत देशभरका शैक्षिक नेतृत्वबीच सहकार्यको नयाँ आधार तयार पार्दै अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका चुनौती र सम्भावनालाई साझा रूपमा पहिचान गर्ने तथा नेपालको शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।