खोटाङ, दिक्तेल: फिल्ड रिपोर्टिङ: विशाल खालिङ राई / डिल्लीराम घिमिरेओमेटो ग्रुप अफ कम्पनीको १९औँ शाखाको रूपमा खोटाङको दिक्तेल बजारमा 'ओमेटो मार्केट प्लेस' (ओमेटो माट) एक भव्य समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। कोशी प्रदेश युनिफाइड उपाध्यक्ष जेपी राईको अध्यक्षता तथा दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका उपप्रमुख विषम राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा ओमेटो ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक तथा प्रमुख वक्ता सूर्यबहादुर कार्कीले नेपालभर १९औँ माटको रूपमा खोटाङ जस्तो रमणीय ठाउँमा शाखा उद्घाटन गर्न पाउँदा आफू गर्वान्वित भएको बताए ।
उनले खोटाङको ओमेटोमाटले उपभोक्तालाई प्रत्यक्ष रूपमा लाभान्वित हुने गरी काम गर्ने र यहाँका प्रत्येक वस्तुको खरिदमा विशेष छुट पाइने जानकारी दिए।
साथै, कृषि उत्पादन तथा तिनको बजारीकरणलाई प्राथमिकतामा राख्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं नगर उपप्रमुख विषम राईले दिक्तेल बजारमा यस कम्पनीको शाखा विस्तार हुँदा स्थानीय उपभोक्ताहरूले उचित मूल्यमा सहजरूपमा सामान किन्न पाउने र यसबाट आफू लगायत सम्पूर्ण दिक्तेलबासी खुसी भएको बताए।
उनले दिक्तेलका उपभोक्ताहरूले ओमेटो मार्केट प्लेसलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उपलब्ध छुट र अफरहरूको भरपूर सदुपयोग गर्न सबैमा आग्रह गरे।
त्यस्तै, खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै ओमेटो ग्रुप अफ कम्पनीलाई जिल्लाका अन्य थप क्षेत्रहरूमा पनि यस्ता किसिमका माट तथा शाखा सञ्चालन गर्न विशेष आग्रह गरे।
कोशी प्रदेश युनिफाइड कमिटीका अध्यक्ष अशोक बस्नेतले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन प्रभु खपाङ्गीले गरेका थिए।
उद्घाटन समारोहको अवसर पारेर खोटाङ जिल्ला युनिफाइड कमिटीलाई विशेष सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा कोशी प्रदेश युनिफाइड कमिटीका उपाध्यक्ष सन्देश सिलवाल, सहसचिव चन्द्रकला थापा मगर, कोषाध्यक्ष डिल्लीराम घिमिरे, कमिटी सदस्यहरू विशाल खालिङ राई र कमला प्रधान, साथै झापा जिल्ला युनिफाइड कमिटीका सचिवसहित सदस्यहरू र इलाम युनिफाइड कमिटीका अध्यक्षलगायत उल्लेखनीय संख्यामा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।















