झापा : पितमकुमार धमलाको लेखन तथा निर्देशनमा निर्माण भएको सन्देशमूलक चलचित्र ‘संघर्ष’को शनिबार राजगढस्थित एभरेस्ट डिजिटल सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ।
विद्यार्थीले वर्तमान समयमा भोगिरहेका विभिन्न समस्या र त्यसले उनीहरूको अध्ययन तथा व्यवहारमा पार्ने प्रभावलाई चलचित्रको मुख्य विषय बनाइएको छ। चलचित्रमा मोबाइलको अत्यधिक प्रयोग, विद्यालयमा हुने बुलिङ, शिक्षक तथा अभिभावकको जिम्मेवारीलगायत विषयलाई कथामार्फत प्रस्तुत गरिएको छ।
एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीको पारिवारिक वातावरणले उसको पढाइ र व्यवहारमा पार्ने प्रभावलाई समेत चलचित्रले देखाउन खोजेको छ। चलचित्रकी मुख्य पात्र ‘गीता’मार्फत आर्थिक अभाव सफलताको बाधक नहुने र त्यसका लागि मेहनत, अनुशासन तथा लगनशीलता आवश्यक पर्ने सन्देश दिन खोजिएको छ।
विद्यार्थीलाई आवश्यकताभन्दा बढी सुविधा उपलब्ध गराउँदा उनीहरूको व्यवहार र अध्ययनमा समस्या आउन सक्ने अवस्थालाई पनि चलचित्रमा समेटिएको छ।
चलचित्रमा बाल कलाकार कृषा भण्डारी मुख्य भूमिकामा छन्। राजु खरेल, राज लावती, अनुष्का ढुङ्गाना, अनुभव खापुङ, रिदम ढकाल, दिपा पोखरेल, तुलसी मिश्रलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको पटकथा तथा संवाद मञ्जिल अधिकारीले तयार गरेका हुन्। राज लावतीले नृत्य निर्देशन, सुवास लिम्बूले छायांकन तथा सम्पादन, राजु खरेलले उत्पादन व्यवस्थापन र विष्णु कार्कीले मेकअपको जिम्मेवारी सम्हालेका छन्। चलचित्रका गीतमा दिनेशराज शर्मा र डा। कुमार सुवेदीका शब्द छन्।
विशेष प्रदर्शनपछि दर्शकले पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको मोबाइल प्रयोग र त्यसबाट सिर्जना भइरहेका समस्यालाई चलचित्रले सन्देशमूलक ढङ्गले प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।
प्रदर्शनअघि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलले स्थानीयस्तरमा चलचित्र निर्माण हुनु र स्थानीय कलाकारलाई अवसर दिँदै ग्रामीण परिवेशका विषयलाई पर्दामा उतार्नु सकारात्मक पक्ष भएको बताइन्।
उनले स्थानीय विषयवस्तु र प्रतिभालाई प्राथमिकता दिँदै यस्ता चलचित्र निर्माणले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने बताइन्।














