मेचीनगर, झापा — सामाजिक संस्था ‘सहयोगी मनहरू नेपाल’ दमक, झापाको आयोजनामा बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। झापाको मेचीनगर–९, खुकुरीडाँगीस्थित कवि शिरोमणि माध्यमिक विद्यालयको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको हो।
मेचीनगर नगरपालिकाका प्रमुख (मेयर) गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य तथा वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त समारोहमा मेचीनगर–९ का १३ जना पुरुषसहित ३० जना अशक्त, असहाय तथा जेष्ठ नागरिकहरूलाई जनही एक-एक थान न्यानो सिरक र एक-एक जोर नयाँ कपडा हस्तान्तरण गरी सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवम् मेयर बुढाथोकीले सहयोगी मनहरू नेपालले पुर्याउँदै आएको सामाजिक तथा मानवीय योगदानको प्रशंसा गर्नुभयो। उहाँले संस्थाका गतिविधिहरूलाई पालिकाले नजिकबाट नियालिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कल्याणकारी कार्यमा नगरपालिकाले पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। "स्थानीय सरकारको उपस्थिति हरेक क्षेत्रमा हुन्छ, तर सरकारी प्रयास मात्र पर्याप्त नहुन सक्छ," मेयर बुढाथोकीले भन्नुभयो, "त्यसैले सामाजिक संस्थाहरूले सञ्चालन गर्ने यस्ता उदाहरणीय अभियानहरूमा स्थानीय सरकार सधैँ समन्वयकारी भूमिकामा रहनेछ।"

यसैगरी, कार्यक्रमकी विशिष्ट अतिथि एवम् प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रकी केन्द्रीय सदस्य सङ्गीता थापाले जेष्ठ नागरिकहरू समाजका अभिभावक र अनुभवका खानी भएकाले उहाँहरूको सम्मान गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। संस्थाले चाडबाडको संघारमा जेष्ठ नागरिकहरूप्रति देखाएको यो आदरभावले समाजप्रतिको उत्तरदायित्व बोध गराएको उल्लेख गर्दै उहाँले संस्थाका यस्ता हरेक सकारात्मक कार्यमा आफू सधैँ सहयोगी बन्न तयार रहेको धारणा राख्नुभयो।
संस्थाका तर्फबाट चाडबाडको शुभकामना मन्तव्य राख्दै पुष्पराज भट्टराईले देश तथा विदेशमा रहेका दाताहरूकै सहयोगका कारण यस्ता ठूला सामाजिक कार्यहरू सम्पन्न गर्न सम्भव भएको बताउनुभयो। उहाँले संस्थाको प्रस्तावलाई स्वीकार गरी सहयोग पुर्याउने सम्पूर्ण मनकारी दाताहरूप्रति आभार व्यक्त गर्नुभयो। उक्त कार्यक्रम सफल पार्न विदेशमा रहनुहुने ठाकुर भण्डारी, गोपालजङ्ग विष्ट र लक्ष्मण भण्डारीका साथै सामाजिक व्यक्तित्वहरू सङ्गीता थापा, विष्णु बुढाथोकी र सुमन कटवालले विशेष आर्थिक तथा भौतिक सहयोग गर्नुभएको जानकारी गराइएको थियो।
संस्थाकी उपाध्यक्ष प्रकृति खड्काले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको सो कार्यक्रममा कार्यक्रम संयोजक प्रतीक्षा पराजुलीले कार्यक्रमको औचित्य एवम् उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको औपचारिक सञ्चालन भने संस्थाका सचिव विष्णु उप्रेतीले गर्नुभएको थियो।
समारोहमा स्थानीय सामाजिक व्यक्तित्व नेत्र न्यौपाने, संस्थाकी कोषाध्यक्ष सीता तिम्सिना, सीता पौडेल, दिलु दाहाल, मदन आचार्य, जानुका ओली, राजेश शिवाकोटी, अमृता गौतम र अर्जुन श्रेष्ठ लगायत ठूलो संख्यामा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
संस्थाले चाडबाडका नाममा हुने अनावश्यक तडकभडक र फजुल खर्चलाई कटौती गरी दीनदुखी, असहाय र जेष्ठ नागरिकहरूको सहयोगमा हातेमालो गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न सम्पूर्णमा हार्दिक अपिल समेत गरेको छ।














