स्थानीय सञ्चार क्षेत्रमा सक्रिय रहेर सूचना तथा समाचार सम्प्रेषणमा योगदान पुर्याउँदै आएका तीन सञ्चारकर्मीलाई बुद्धशान्ति–४, बर्ने हापेनचोकस्थित युनिटी युथ क्लबले सम्मान गरेको छ।
क्लबले देउसीभैलो कार्यक्रम २०८३ को समापनका अवसरमा आज साँझ आयोजित विशेष कार्यक्रममा सञ्चारकर्मी पवन ढकाल, समीर सुब्बा र सञ्चराज माबोलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।
स्थानीय सञ्चार क्षेत्रमार्फत समाजका गतिविधि, सूचना तथा समाचार सम्प्रेषणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै क्लबले सञ्चारकर्मीहरूलाई सम्मान गरेको जनाएको छ।

क्लब अध्यक्ष डिल्ली माबोको अध्यक्षता तथा स्थानीय समाजसेवी लक्ष्मी माबोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देउसीभैलो अभियानमा सहयोग पुर्याउने विभिन्न महानुभावलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा क्लबका सदस्य कलाकारहरूले गीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएको थियो।
खेलकुद तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय युनिटी युथ क्लबले देउसीभैलोबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ। संस्कृतिको संरक्षणसँगै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले क्लबले देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आएको हो।
देउसीभैलो अभियानमार्फत संस्कृति संरक्षण, सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्दै संकलित रकम सामाजिक कार्यमा परिचालन गर्ने क्लबको पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ।














