बिर्तामोड । पहाडी तथा विकट क्षेत्रका आर्थिक रूपमा विपन्न, असहाय र शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई उचित संस्कारसहित आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिका–६ मनासपुरमा सञ्चालित राधिका फाउन्डेसनले श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गर्ने भएको छ।
बालबालिकाका लागि खाना, नाना र छानाको व्यवस्था गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने मूल उद्देश्यका साथ आगामी मंसिर १३ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको फाउन्डेसनकी संरक्षक तथा प्रसिद्ध कथावाचिका राधिका दासले जानकारी दिनुभयो।
महायज्ञबारे जानकारी दिन झापाको बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा कथावाचिका दासलाई सम्मानसहित स्वागत गरिएको थियो। बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले उहाँलाई स्वागत तथा सम्मान गर्नुभएको हो।
कार्यक्रममा बोल्दै कथावाचिका दासले महायज्ञ केवल धार्मिक अनुष्ठान र धर्म जागरणका लागि मात्र नभई आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाको भविष्य निर्माण गर्ने पवित्र उद्देश्यसँग जोडिएको बताउनुभयो।
नेपालका विभिन्न पहाडी तथा विकट स्थानमा रहेका गरिब, असहाय र विपन्न बालबालिकालाई आश्रममा राखेर उचित शिक्षा, संस्कार र आधुनिक ज्ञान प्रदान गर्ने लक्ष्यका साथ फाउन्डेसन अघि बढिरहेको उहाँको भनाइ थियो।
उहाँका अनुसार मंसिर १२ गते कलश शोभायात्रासहित महायज्ञको धार्मिक कार्यक्रम शुभारम्भ हुनेछ भने मंसिर १३ गतेदेखि २१ गतेसम्म नियमित रूपमा श्रीमद्भागवत कथा तथा धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ। प्रत्येक दिन बिहान ७ बजेदेखि पाठपारायण र बिहान ११ बजेदेखि कथावाचन हुने कार्यक्रम तय गरिएको छ।

महायज्ञमा नेपालका ३५ भन्दा बढी जिल्लाबाट भक्तजन तथा धर्मानुरागीहरूको सहभागिता रहने अपेक्षा गरिएको कथावाचिका दासले बताउनुभयो। देशका विभिन्न जिल्लाबाट झापा आउने भक्तजनहरूलाई भव्य र सभ्य रूपमा स्वागत गर्न सम्पूर्ण झापावासी एकजुट हुनुपर्ने उहाँको आग्रह थियो।
उहाँले राधिका फाउन्डेसनले महायज्ञ आयोजना गरे पनि यो कुनै एक संस्था वा व्यक्तिको मात्र कार्यक्रम नभई समग्र झापाको साझा धार्मिक तथा सामाजिक अभियान भएको उल्लेख गर्नुभयो।
महायज्ञलाई सफल बनाउन उद्योगी, व्यवसायी, सामाजिक व्यक्तित्व, धार्मिक संघसंस्था तथा सम्पूर्ण धर्मप्रेमी महानुभावलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले अपिल गर्नुभयो।
विशेषगरी विभिन्न जिल्लाबाट आउने भक्तजनलाई झापाको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान झल्किने गरी स्वागत र आतिथ्य प्रदान गर्न बिर्तामोड उद्योग वाणिज्य संघमार्फत व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गर्नुभयो। बालबालिकाको भविष्य निर्माणजस्तो पवित्र उद्देश्यमा सबैको साथ र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले समाज र धर्म एकअर्काका परिपूरक भएकाले सामाजिक उत्तरदायित्व बहन गर्दै धार्मिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्ने यस्ता अभियानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।
धार्मिक कार्यक्रमले समाजमा आपसी सद्भाव, एकता र सहकार्यको भावना विकास गर्नुका साथै सामाजिक सेवाका क्षेत्रमा समेत सकारात्मक योगदान पुर्याउने उहाँको भनाइ थियो।
विपन्न बालबालिकाको शिक्षा र भविष्यसँग जोडिएको राधिका फाउन्डेसनको अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष न्यौपानेले महायज्ञ सफल बनाउन उद्योगी, व्यवसायी तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गर्नुभएको थियो।
राधिका फाउन्डेसनले धार्मिक आस्था र सामाजिक सेवाको संयोजनमार्फत असहाय बालबालिकाको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ। मंसिर १३ देखि २१ गतेसम्म सञ्चालन हुने महायज्ञले यस अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।














