बिर्तामोड । पूर्वी नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल इटहरीको पुरानो सांगीतिक समूह नेक्सस ब्यान्ड नयाँ एल्बम ‘वारीपारी’ सहित पुनः दर्शकमाझ आएको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा पार गरेको ब्यान्डले आफ्नो नयाँ एल्बम सार्वजनिक गर्दै संगीतप्रेमीलाई लक्षित गरी सांगीतिक प्रस्तुति सुरु गरेको हो।

ब्यान्डले शनिबार (मंसिर ६ गते) झापाको बिर्तामोडस्थित मोक्षमा विशेष लाइभ सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

34cdbde5-58bc-47ce-a918-7c22e0178b37यसअघि शुक्रबार इटहरीमा एल्बम सार्वजनिक गर्दै प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएको ब्यान्डले आज बिर्तामोडमा समेत आफ्ना नयाँ तथा पुराना सिर्जनामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा ब्यान्डका प्रमुख भोकलिस्ट पवन लिम्बूले लामो समयको अन्तरालपछि नयाँ एल्बमसहित दर्शकमाझ आउन पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँका अनुसार पुरानो सांगीतिक अनुभव र नयाँ पुस्ताको रुचिलाई समेट्दै फरक ऊर्जा तथा शैलीका साथ ब्यान्ड पुनः सक्रिय भएको हो।


0c148eee-fe56-4971-a475-d9d20d5e07e3एल्बम ‘वारीपारी’ मा आठवटा गीत समावेश छन्। प्रेम, प्रकृति, मानवीय भावना, सामाजिक चेतना र परिवर्तनका विषयलाई गीतमार्फत प्रस्तुत गरिएको छ।

युवापुस्तालाई कुलतबाट टाढा रहन प्रेरित गर्ने, वातावरण तथा पर्यावरण संरक्षणमा नागरिकको भूमिका उजागर गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने सिर्जनालाई समेत एल्बममा प्राथमिकता दिइएको ब्यान्डले जनाएको छ।


नेपाली मौलिकता र पश्चिमा संगीतको फ्युजनलाई समेट्दै रक तथा आधुनिक संगीतको फरक स्वाद प्रस्तुत गर्ने उद्देश्यले एल्बम तयार गरिएको ब्यान्डका सदस्यहरूले बताएका छन्।

पछिल्लो समय युवापुस्तामाझ रक विधाका गीतसंगीतप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पुरानो सांगीतिक विरासतलाई नयाँ शैली र प्रविधिसँग जोड्ने प्रयास गरिएको उनीहरूको भनाइ छ।


सन् २००४ मा स्थापना भएको नेक्सस ब्यान्डले यसअघि ‘विश्वास’ लगायतका गीतमार्फत आफ्नो सांगीतिक पहिचान स्थापित गरेको थियो। व्यक्तिगत तथा व्यावसायिक व्यस्तताका कारण सदस्यहरू विभिन्न देशमा रहे पनि संगीतप्रतिको साझा लगावले ब्यान्डलाई पुनः एकै ठाउँमा जोडेको छ।


ब्यान्डमा प्रमुख भोकलिस्ट पवन लिम्बू, लिड गिटारमा मनोज राई, गिटारमा सुजन लिम्बू, ड्रममा नवीन श्रेष्ठ तथा बेस गिटारमा नवीन न्यौपाने रहनुभएको छ।


नयाँ एल्बममार्फत पुराना श्रोतालाई पुनः जोड्ने र नयाँ पुस्तालाई नेपाली मौलिकता तथा आधुनिक संगीतको सम्मिश्रणमा आधारित फरक सांगीतिक अनुभव दिने ब्यान्डको अपेक्षा छ।